महोत्तरीमा विद्यालय केन्द्रित खोप दिन सुरु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

महोत्तरीमा विद्यालय केन्द्रित खोप दिन सुरु


७ पुस २०७८, बुधबार


महोत्तरी । यहाँका सामुदायिक विद्यालयका छात्रछात्रालाई कोभिड–१९ विरुद्धको मोर्डना खोप दिन थालिएको छ । आज जिल्लाका सात स्थानीय तहका सबै सामुदायिक विद्यालयमा १२ देखि १८ वर्ष उमेर समूहका छात्रछात्रालाई खोप दिन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

विद्यालय खोप केन्द्रमा उमेर समूहभित्रपर्ने सर्वसाधारणले पनि खोप पाउने छन् । दुई चरणमा सञ्चालन गरिने खोप अभियानको पहिलो चरणमा सात र दोस्रो चरणमा आठ स्थानीय तह समेटिएका छन् ।

आज सुरु भएको पहिलो चरणमा जिल्लाका बर्दिबास, गौशाला, भङगाहा, रामगोपालपुर र औरही नगरपालिका एवं सम्सी तथा सोनामा गाउँपालिकाका सामुदायिक विद्यालय खोप केन्द्र हुनेछन् । पहिलो चरणमा आजदेखि पुस ११ गतेसम्म सञ्चालन हुनेछ ।

कोभिड–१९ महाव्याधिको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएसँगै यसपालि विद्यालयका छात्रछात्रालाई लक्षित गरी जिल्लाभरिमा दुई चरणमा खोप लगाउने तयारी थालिएको स्वास्थ्य कार्यालयले जनाएको हो । यस पटक मोर्डना खोप लगाइँदै गरिएको कार्यालयका निमित्त प्रमुख भोला यादवले जानकारी दिए ।

खोपको दोस्रो चरण पुस १४ देखि १८ गतेसम्म सञ्चालन गरिने छ । यस चरणमा जिल्लाका जलेश्वर, लोहारपट्टी, मटिहानी, मनरासिस्वा र बलवा नगरपालिका एवं एकडारा, पिपरा तथा महोत्तरी गाउँपालिकासहित आठ स्थानीय तहका सामुदायिक विद्यालय खोप केन्द्र हुनेछन् ।

‘हामीलाई ८५ हजार मात्रा खोप प्राप्त भएको छ, जिल्लामा १२ देखि १८ वर्ष उमेर समूहभित्रका ८० हजार ५०० लाई खोप दिने लक्ष्य छ’, निमित्त कार्यालय प्रमुख यादवले भने, ‘दुवै चरणका खोप कार्यक्रम प्रभावकारी बनाउन आवश्यक दक्ष जनशक्ति विन्यास गरेका छौँ ।’ यस अभियानका लागि खोप केन्द्रको निर्धारण, औषधि (खोप) को व्यवस्थापन, जनशक्ति विन्यास र नियमित अनुगमन सँगसँगै गरिने यादवको भनाइ छ ।

विद्यालय केन्द्रित यो अभियानमा कोही छात्रछात्रा नछुटुन् भन्नेतर्फ विद्यालय प्रशासन र आम अभिभावकको चासो तथा सचेतना आवश्यक रहेको स्वास्थ्य कार्यालयको अपिल छ । खोप केन्द्रमा तोकिएको उमेर समूह (१२–१८ वर्ष) का आम सर्वसाधारणले पनि खोप लिन पाउने छन् । जिल्लाको ६५ प्रतिशत जनसङ्ख्याले यसअघि नै कोभिड–१९ विरुद्धका विभिन्न खोप लगाइसकेको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस