कृषि तथा पशुपन्छी क्षेत्रको विकासले मात्र किसानको जीवनस्तर माथि उठ्छ : मुख्यमन्त्री भट्ट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कृषि तथा पशुपन्छी क्षेत्रको विकासले मात्र किसानको जीवनस्तर माथि उठ्छ : मुख्यमन्त्री भट्ट


५ पुस २०७८, सोमबार


डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि तथा पशुपन्छी विकास क्षेत्रको विकासले मात्र किसानको जीवनस्तर माथि उठ्ने बताएका छन् ।

दिपायलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषि तथा पशुपन्छीको व्यावसायिक विकास र प्रवर्द्धनका लागि राज्यको लगानी वृद्धि गर्नु आवश्यक छ भने ।

उनले भने, ‘किसानी काम गर्न अर्काको मुलुक किन पस्ने, आफ्नै बाझो जमिनमा खेती गरौँ, स्वरोजगार बनौँ ।’ कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टले देशको आर्थिक समृद्धि र समग्र विकासको लागि कृषि क्षेत्रले ठुलो योगदान पुर्‍याउने बताए ।

जिल्लामा प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालय दिपायल राजपुरका आयोजनामा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तर्गत ‘नमुना कृषि गाउँ, आफैँ बनाऔँ’ भन्ने कार्यक्रम कार्यान्वयनमा आएको छ ।

जिल्लाले कृषि क्षेत्रमा उल्लेख्य फड्को मार्न थालेको कृषि विकास निर्देशक यज्ञराज जोशीले बताए । उनले भने, ‘आर्थिक अभाव भएका तर स्वदेशमै कृषि क्षेत्रमा केही गरौँ भन्ने सोच भएका व्यक्तिलाई ‘नमुना कृषि गाउँ, आफैँ बनाऔँ’ भन्ने कार्यक्रम फलदायी भएको छ, कृषि क्षेत्रमा पनि उल्लेख्य विकास हुँदै छ ।’

सडक सञ्जालले नछोएको सिँचाइको व्यवस्थापन हुन नसकेको, बजारीकरणको अभाव, किसानको माग चाहना आवश्यकता अनुसार नभएर माथि बाटै सिधै योजना आउने गरेका कारण समस्या हुँदै आएको कार्यक्रमका सहभागीले गुनासो गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस