संसदको अवरोध हटाउन माओवादीले पहल गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संसदको अवरोध हटाउन माओवादीले पहल गर्ने


२८ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले सङ्घीय संसदको अवरोध हटाउन विशेष पहल गर्ने भएको छ ।

सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले संसदमा लामो समयसम्म अवरोध हुँदा महत्वपूर्ण विधेयकलगायत जनजीविकासँग जोडिएका विषय अगाडि बढ्न नसकेकाले निकासका लागि सकारात्मक पहल गर्ने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद्को अघिल्लो बैठक लगातार अवरोध गरेका कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेको थिएन ।

बैठकमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समसामयिक राजनीतिक अवस्था र सङ्घीय संसदको बैठकमा पार्टीका तर्फबाट खेल्नुपर्ने भूमिकाको बारेमा निर्देशन दिएका थिए ।

अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा अध्यक्ष दाहालले सङ्घीय संसद्को बैठकमा प्रभावकारी भूमिका खेल्न र जनताको पक्षमा दह्रोसँग उभिन निर्देशन दिए ।

यस्तै बैठकले राष्ट्रियसभा दलको प्रमुख सचेतकमा गोपी अछामीलाई चयन गरेको छ । त्यस्तै, सचेतकमा गंगा बेल्वासे र सचिवमा रामनारायण बिडारीलाई चयन गरेको छ ।

बैठकले अध्यक्ष प्रचण्डको नेतृत्वमा २१ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । बोर्डमा प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रमुख सचेतक, सचेतकलगायत रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस