काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ ।
राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म कुल खसेको मतको आधा गणना भइसकेको छ । सुरुदेखि नै अग्रता लिइरहेका शेरबहादुर देउवाले १२२५ मत पाएका छन् भने शेखर कोइरालाले ९८० मत पाएका छन् ।
प्रकाशमान सिंहले २०४ र विमलेन्द्र निधिले १६२ मत पाउँदा कल्याण गुरुङले १२ मत पाएका छन् ।
काँग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।
कुनै पनि उम्मेदवारले बहुमत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबिच पुनः प्रतिस्पर्धा हुनेछ ।