काँकडभिट्टा नाकाबाट चार महिनामा पाँच करोडको कोदो आयात « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काँकडभिट्टा नाकाबाट चार महिनामा पाँच करोडको कोदो आयात


२३ मंसिर २०७८, बिहिबार


झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा पाँच करोड बढीको कोदो नेपाल आयात गरिएको छ ।

क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८÷०७९ को साउन, भदौ, असोज र कात्तिकमा पाँच करोड १५ लाख २५ हजार मूल्य बराबरको एक हजार ६१० मेट्रिक टन कोदो आयात गरिएको हो ।

गत वर्ष सोही अवधिमा रु चार करोड ५१ लाख ९४ हजार मूल्यको एक हजार ५७० मेट्रिक टन कोदो आयात भएको थियो ।

क्वारेन्टिन कार्यालय काँकडभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले भारतको उत्तरखण्ड, झारखण्ड र सिलगुढीबाट कोदो आयात हुने गरेको बताए । उनले गत वर्षको तुलनामा यस वर्ष ४० मेट्रिक टन बढी कोदो आयात भएको जानकारी दिए ।

विर्तामोड नगरपालिका–५ मा मोती इन्टरनेशनल बिक्री केन्द्रमार्फत पवनकुमार अग्रवालले मासिक साढे सात हजार किलो कोदो भारतबाट खरिद गरेर ल्याउने गरेको बताए । उनले भारतबाट ल्याइने कोदोलाई ५० किलोका बोरामा प्याकेजिङ गरेर बिक्री गर्ने गरेको जानकारी दिए ।

अग्रवालजस्तै अन्य पाँच बिक्री केन्द्रले भारतबाट कोदो ल्याएर नेपालमा प्याकेजिङ गरेर बिक्री गर्दै आएका छन् ।

नेपाल २० वर्षअघि सम्म हेटौँडाबाट उत्पादन हुने कोदोमा आत्मनिर्भर रहेको तर, हेटौँडामा कोदोको उत्पादन हुन छाडेपछि भारतीय कोदो ल्याएर बिक्री गर्दै आएको उनले बताए । ‘गुणस्तरीय कोदो उत्पादन हुन्थ्यो हेटौँडामा’, उनले भने, ‘युवा जति पलायन हुन थालेपछि र कोदो खेती हुने जमिनमा सहरीकरण भएपछि नेपाल कोदोमा परनिर्भर हुनुपर्यो ।

कृषि ज्ञान केन्द्रका अर्थविज्ञ शालिकराम भट्टराईले झापामा ९५० हेक्टर जमिनमा मात्र कोदो खेती हुँदै आएको बताए । नेपालको पहाडी तथा तराईका जिल्लामा कोदो खेती प्रशस्तै हुने भए पनि किसानको ध्यान त्यतातिर नजाँदा परनिर्भर हुनुपर्ने बाध्यता भएको बताए ।

उनले विशेष गरी जाँड रक्सी बनाउनका लागि कोदो भारतबाट आयात हुने गरेको सुनाए । उनले पछिल्लो समय होमस्टे, रेष्टुराँमा कोदोको रोटी, ढिँडोको परिकार बनाउनसमेत आयात हुने गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस