बागलुङको दुर्गम गाउँमा टेलिकमको सेवा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बागलुङको दुर्गम गाउँमा टेलिकमको सेवा


२२ मंसिर २०७८, बुधबार


बागलुङ । नेपाल टेलिकमले यहाँका दुर्गम गाउँलाई लक्ष्य गरी चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा विस्तार गरेको छ । बडिगाड गाउँपालिका–४ जलजला र ८ रणसिँहकिटेनीको सीमास्थल बेतथलाको धुरीमा स्थायी संरचना बनाएर सो सेवा दिइएको हो ।

यसअघि त्यहाँ थ्रिजी सेवा मात्र उपलब्ध थियो । जसका कारण डाटा र भ्वाइस सेवा गुणस्तरीय थिएन । फोरजी प्रविधि जडानपछि उपभोक्ताले तीव्र गतिको मोबाइल इन्टरनेट प्रयोग गर्न पाएका छन् । पच्चिस मिटर अग्लो टावर निर्माण गरी सेवा थप गरिएको टेलिकमको बागलुङ कार्यालयका वरिष्ठ इन्जिनीयर केशव शर्माले बताए । सदरमुकामदेखि झण्डै २५ कोष पश्चिममा अवस्थित त्यस ठाउँमा पहिलोपटक फोरजी सेवा पुगेको हो ।

‘डाटा र भ्वाइस दुवैमा प्रयोगकर्ताले गुणस्तरीय सेवा पाएका छन्’, शर्माले भने, ‘अब पहिलेझैँ मोबाइल इन्टरनेटमा समस्या झेल्नुपर्दैन, फोन कलमा पनि उल्लेख्य सुधार आएको छ ।’

भौगोलिक विकटता भएका गाउँमा इन्टरनेट र फोन सेवाको सहज पहुँचका लागि टेलिकमले प्राथमिकता दिएर काम गरिरहेको छ । जिल्लाका अधिकांश क्षेत्रमा अहिले फोरजी सेवा विस्तार भइसकेको छ ।

मोबाइल आएको १० वर्ष भए पनि रणसिँहकिटेनीका बासिन्दा गुणस्तरीय इन्टरनेट सेवाबाट बञ्चित थिए । टेलिकमले अस्थायी संरचनाबाट टुजी र थ्रिजी सेवा प्रदान गर्दै आएको थियो । नयाँ पूर्वाधार र प्रविधि थपेपछि जलजला, रणसिँहकिटेनी, भिमगिठेसँगै छिमेकी जिल्ला गुल्मीका गाउँसम्म सेवाको पहुँच पुगेको छ ।

पहिलेको जस्तो मोबाइलमा इन्टरनेट सेवा लिन डाँडातिर जानुपर्ने अवस्था अब नरहेको रणसिँहकिटेनीका वडाध्यक्ष यमबहादुर श्रीस थापाले बताए । इन्टरनेटको सहज सुविधाले गाउँका बासिन्दा खुसी छन् । टेलिकमले सेवाको विस्तारसँगै दिइरहेको सेवामा गुणस्तर थप्दै लगेको छ । टेलिकम कार्यालयका वरिष्ठ इन्जिनीयर शर्माले जिल्लाका कुनाकाप्चासम्म इन्टरनेट र फोनको स्तरीय सेवा पुर्‍याउन कार्यालय लागिपरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस