प्रहरी हितासतमा मृत्यु भएका यादवको पिताद्वारा सर्वोच्चमा रिट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रहरी हितासतमा मृत्यु भएका यादवको पिताद्वारा सर्वोच्चमा रिट


२१ मंसिर २०७८, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतमा ललितपुरको प्रहरी हिरासतमा मृत्यु भएका दुर्गेश यादवको परिवारले आफूहरुले दिएको जाहेरीमा अनुसन्धान नगर्ने भनी गरेको निर्णय खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

यादवका पिता सुधाराम यादवले आज उक्त रिट निवेदन दायर गरेका हुन् । उक्त निवेदनमा यही मङ्सिर २३ गते सुनुवाइका लागि पेसी तोकिएको छ । जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका यादवले २०७७ असार २८ गते प्रहरी हिरासतमा आत्महत्या गरेको प्रहरीको अध्ययनले देखाएको थियो । सप्तरीको सिराहा नगरपालिका-७ का यादवले ललितपुर प्रहरी परिसरस्थित शौचालयको झ्यालको रडमा तन्नाको पासो लगाएर आत्महत्या गरेको प्रहरीको अध्ययनमा थियो ।

यादवका परिवारले प्रहरीको प्रतिवेदन झुटो भएको आरोप लगाएको छ । कार्यस्थलमा रहेका प्रहरी र जाहेरी दिने युवतीमाथि छानबिनको माग गर्दै प्रहरीमा परिवारले जाहेरी दिए पनि प्रहरीले जाहेरीमाथि थप अनुसन्धान गरेर मुद्दा चलाउन नसक्ने निर्णय गरेपछि दुर्गेशका पिताले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् । संविधान र कानूनप्रदत्त हक अधिकारको संरक्षणका लागि नेपालको प्रचलित कानूनबमोजिम विपक्षी महानगरीय प्रहरी परिसर जावलाखेल, ललितपुरको नाउँमा परमादेश जारी गर्न मागसमेत रिट निवेदनमा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस