साकेलामा सामाजिक सुरक्षा भत्तावापतको रु ४६ लाख रकम बेरुजु खातामा फिर्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

साकेलामा सामाजिक सुरक्षा भत्तावापतको रु ४६ लाख रकम बेरुजु खातामा फिर्ता


१७ मंसिर २०७८, शुक्रबार


खोटाङ । साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्तावापत दुई चौमासिकमा रु ४६ लाख रकम बेरुजु खातामा फिर्ता भएको छ ।

सामाजिक सुरक्षा भत्तामा भइरहेका अनियमितता नियन्त्रण गर्न गाउँपालिकाले बैङ्किङ प्रणाली अपनाएर वितरण सुरु गरेपछि आर्थिक वर्ष २०७७/७८ को दोस्रो र तेस्रो चौमासिकमा रु ४६ लाख ७४ हजार ७६६ रकम बेरुजु खातामा फिर्ता गएको हो ।

आव २०७७/७८ को दोस्रो चौमासिकमा एक हजार ४५९ लाभग्राहीका लागि रु एक करोड ३८ लाख ९८ हजार २८२ र तेस्रो चौमासिकमा एक हजार ४०८ लाभग्राहीका लागि रु करोड ३३ लाख ६४ हजार ९६८ निकासा दिएको थियो ।

सामाजिक सुरक्षाभत्ता शीर्षकको लाखौँ रकम चुहावट भइरहेको प्रतिवेदन सार्वजनिक भए लगत्तै गाउँपालिकाले आव २०७७/७८ को दोस्रो चौमासिकदेखि मात्तिमस्थित एसबीआई बैङ्कको शाखामार्फत वितरण सुरु गरेको हो ।

बैङ्कको सम्पर्कमा नआएका र चालु आवको कात्तिक मसान्तसम्म सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गर्न नआएका २८० लाभग्राहीको नाममा पठाइएको रकम फिर्ता भएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए।

‘बैङ्किङ प्रणालीमा लैजानुअघि सामाजिक सुरक्षा भत्ता वितरणमा लाखौँ रकम अनियमितता हुँदै आएको थियो’, उनले भने, ‘मृत्यु भइसकेका, कतिपय बसाइँ सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिको नाम हटाइएपछि सामाजिक सुरक्षा भत्तावापतको लाखौँ रकम अनियमितता हुनबाट जोगिएको छ ।’

साकेला गाउँपालिकामा एकै आवमा रु ८७ लाखभन्दा बढी सामाजिक सुरक्षाभत्ता चुहावट भएको प्रतिवेदन सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

सामाजिक सुरक्षाभत्ता वितरणमा कर्मचारीको लापरबाहीले अनियमितता भएको पाएपछि गाउँपालिकाले आवश्यक कारबाहीका लागि विसं २०७७ पुस १२ गते अख्तियारलाई फाइल पठाएको थियो ।

गाउँपालिका र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागअन्तर्गत रहेको सेवा एकाइको सक्रियतामा गलत लाभग्राहीको नाममा भुक्तानी हुँदै आएको रकम जोगिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख डिल्लीमान राईले बताए।

‘सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता भएको विषय बाहिरिएपछि गाउँपालिका उपप्रमुख सरिता खड्काको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो’, उनले भने, ‘छानबिन समितिले आव २०७६/७७ मात्रै रु ८७ लाख ४१ हजार ६०० रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।’

यसअघि उक्त गाउँपालिकाको वडा नं ५ मात्तिम ठेगाना उल्लेख भएको तीन जना फूलसरी राईको नाममा वर्षैदेखि नियमित सामाजिक सुरक्षा भत्ता निकासा गरिएको पाइएको थियो । एउटै नाम, एउटै जन्म मिति, एउटै नागरिकता नम्बर र एउटै ठेगाना राखेर वर्षौँदेखि सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी तीनै जना सो वडामा छैनन् ।

जिल्लाकै सबैभन्दा सानो पाँच वटा मात्रै वडा रहेको साकेला गाउँपालिकामा अहिले जम्मा एक हजार २०५ लाभग्राही कायम रहेको छ । चालु आवको प्रथम चौमासिकमा रु एक करोड ११ लाख भुक्तानी भएको गाउँपालिकाले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि बैङ्किङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण थालेका छन् । यद्यपि अन्य स्थानीय तहले भने सामाजिक सुरक्षा भत्ता वितरणमा भइरहेको चुहावटबारे बाहिर ल्याएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस