देशमा माओवादीको विकल्प छैन : अध्यक्ष दाहाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

देशमा माओवादीको विकल्प छैन : अध्यक्ष दाहाल


१६ मंसिर २०७८, बिहिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका छन् ।

आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका हुन् ।

अध्यक्ष दाहालले माओवादी कमजोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै उल्ट्याउने प्रयासमा लागिएको भन्दै माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तन बच्ने बताए ।

अध्यक्ष दाहालले हिजो (बुधबार) राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन कार्यक्रममा नेकपा मालेका महासचिव सिपी मैनालीले राजा महेन्द्रको प्रशंसा गरेकोप्रति लक्षित गर्दै नाम कम्युनिस्ट भए पनि काम सामन्तीको भएको बताए ।

उनले नेपालमा परिवर्तनको रक्षाको लागि मात्रै नभई, राष्ट्र, राष्ट्रिय एकता, उत्पीडित वर्ग र समुदायको हक, अधिकारलाई पूर्णता दिनको लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको दाबी गरे ।

अध्यक्ष दाहालले भने, ‘परिवर्तनको रक्षा गर्न र परिवर्तनलाई अझ पूर्णता दिनको लागि पनि, जनताको हक अधिकारलाई एउटा पूर्णतामा पुर्‍याउने, समाजवादको यात्रा सुरु गर्नको निम्ति पनि माओवादी केन्द्र बलियो बनाउनुको विकल्प छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस