भक्तपुर काँग्रेस सभापतिमा कवेँद्वारा उम्मेदवारी घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भक्तपुर काँग्रेस सभापतिमा कवेँद्वारा उम्मेदवारी घोषणा


१२ मंसिर २०७८, आइतबार


भक्तपुर । नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमिति सभापति पदमा अष्टकुमार कवेँले उम्मेदवारी दिने भएका छन् ।

काँग्रेसका पूर्व जिल्ला सभापति द्वय महेश श्रेष्ठ र गणेशमान चक्रधरका उपस्थितिमा शनिवार आयोजित कार्यक्रममा उनले जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सो अवसरमा नेता कवेँले भने, ‘काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउन मैले उम्मेदवारी दिएको हुँ । नगर प्रमुख, प्रदेश सभासद् वा सङ्घीय सांसदमा म उम्मेदवारी दिन्नँ । भक्तपुर, सूर्य विनायक, चाँगुनारायण र मध्यपुरथिमिमा नगरप्रमुख, उपप्रमुख र वडा तथा नगरपालिकामा कम्तीमा तीन वटा वडामा विजयी सुनिश्चित गराउने छु । यसका लागि मेरो उम्मेदवारी हो ।’

कार्यक्रममा काँग्रेस पूर्व जिल्ला सभापति द्वय श्रेष्ठ र चक्रधरले १३औँ महाधिवेशनमा गरेको सहमति र सहकार्य वर्तमान जिल्ला सभापतिले पालना गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल तरुण दलका पूर्व अध्यक्ष विनोद कायस्थ, काँग्रेस जिल्ला सचिव उद्धव सिलवाल, भक्तपुर क्षेत्र नं २ का नवनिर्वाचित क्षेत्रीय सभापति भेषबहादुर कार्कीलगायतले पार्टीलाई बलियो बनाउन एकता र सहकार्य आवश्यक रहेको बताए । यसअघि काँग्रेस जिल्ला सभापति दुर्लभ थापाले पुनः सभापतिको उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस