तोलामा रु २०० ले बढ्यो सुन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तोलामा रु २०० ले बढ्यो सुन


१० मंसिर २०७८, शुक्रबार


काठमाडौँ । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ९०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ४०० छ जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार २०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २२५ तोकिएको महासङ्घले जनाएको छ ।

साताको पहिलो दिन आइतबार प्रतितोला रु ९३ हजार ७०० मा कारोबार भएको छापावाल सुन अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा प्रतितोला रु एक हजार ८०० ले घटेर ९१ हजार ९०० पुगेको छ ।

सार्वजनिक तथ्याङ्कअनुसार गत आइतबारका तुलनामा सोमबार प्रतितोला रु २०० ले बढेको सुनको मूल्य त्यसपछिका दिनमा लगातार घटेको देखिन्छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतार चढावका आधारमा यहाँ आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन सुन तथा चाँदीका मूल्य तोक्ने गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९५ डलर आसपासमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस