चोरी गिरोहका चार जना भारतीय नागरिक पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चोरी गिरोहका चार जना भारतीय नागरिक पक्राउ


६ मंसिर २०७८, सोमबार


पक्राउ

भक्तपुर । भक्तपुरको एक उद्योगबाट कात्तिक ३० गते ढलौटका विभिन्न सामानहरू चोरी गरी फरार भएका गिरोहका चार भारतीय नागरिकलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पाँच दिनपछि पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारत मोतिहारी घर भई काठमाडौँ महानगरपालिका–३२ बानेश्वर बस्ने ३० वर्षीय मुन्ना साह, सोही ठाउँ बस्ने ३५ वर्षीय नारद साहु, भारत हैदराबाद घर भई काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल बस्ने १८ वर्षीय बैंकटेस गिरी र सोही ठाउँका १८ वर्षीय राजु गिरी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रहरीले काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित मुन्ना साहको कवाडी पसलमा बिक्री गरेको चोरीका सामानसहित पक्राउ गरेको हो ।

प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित दुवाल आर्ट एन्ड ह्यान्डिक्याप उद्योगबाट उनीहरूले ढलौटको करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको करुवाहरू चोरी गरेको अनुसन्धानका क्रममा खुलेको उनले जानकारी दिए ।

उनीहरूका साथबाट प्रहरीले २९ किलो ५०० ग्रामको ढलौटको करुवाको बैठक, ७४ किलो ढलौटको करुवाको मुख, ४७ किलो पानसको छड र ४८ किलो कच्चा पदार्थ बरामद गरेको उनले जानकारी दिए ।

पक्राउपछि भक्तपुर जिल्ला अदालतबाट चोरी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको गिरीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस