सुर्खेतमा चितुवाको छालासहित चार जना पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सुर्खेतमा चितुवाको छालासहित चार जना पक्राउ


६ मंसिर २०७८, सोमबार


कर्णाली । बराहताल गाउँपालिका–५ सुर्खेत बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पञ्चदेवल नगरपालिका–८ अछामका ३५ वर्षीय कमल शाही तथा २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ अछामका २१ वर्षीय उपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ दैलखका ३५ वर्षीय विमल शाही छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको जानकारी दिए ।

उनले भने, ‘विशेष सूचनाको आधारमा सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिकास्थित बड्डीचौर बजारमा रहेको प्रेम होटेलको कोठा नम्बर ३ मा शङ्कास्पदरुपमा बसिरहेका अवस्थामा चार जनालाई खानतलासी गर्दा जेब्रा झोलामा प्लास्टिकको बोराभित्र राखेको तीन थान चितुवाको छाला भेटियो ।’ आरोपितलाई जिप्रकाले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

जिप्रका सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले पक्राउ परेका विमल र कमल शाहीबाट एक÷एक थान लाभा, उपेन्द्र र चक्रबहादुर शाहीबाट एक÷एक थान रेड÷रियल्मी मोबाइल बरामद गरिएको जानकारी दिए । यसको साथै चक्र शाहीले बोकेको कालो रङ्को झोलामा रु ४५ लाख उल्लेख गरी दस्तखत गरेको चेकसमेत बरामद गरिएको प्रहरी उपरीक्षक विष्टले बताए ।

सोही व्यक्तिको साथबाट २७ हजार नगदसमेत बरामद गरिएको र पक्राउ परेका चारै जनालाई अनुसन्धान तथा आवश्यक कारबाही लागि डिभिजन वन कार्यालय वीरेन्द्रनगर सुर्खेतमा बुझाइएको जिप्रकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस