वर्तमान सरकार जनताप्रति उत्तरदायी छ: अध्यक्ष नेपाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वर्तमान सरकार जनताप्रति उत्तरदायी छ: अध्यक्ष नेपाल


५ मंसिर २०७८, आइतबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताए ।

एकीकृत समाजवादी तनहुँ–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज आयोजित भेलामा उनले गठबन्धन सरकारले जनताको हित हुने गरी काम गरिरहेको बताए ।

अध्यक्ष नेपालले पाँच दलको एकता बलियो रहेको भन्दै गठबन्धनलाई कसैले भत्काउन नसक्ने ठोकुवा गरे । उनले राष्ट्रियसभा तथा उपनिर्वाचनमा गठबन्धनले साझा उम्मेदवार उठाएर सबै स्थानमा विजय हासिल गर्ने बताए ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताए । वैदेशिक रोजगार क्षेत्रलाई पनि बेथिति मुक्त बनाउने प्रतिबद्धता जनाउँदै उनले वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन भएका कानुनलाई कडाइका साथ कार्यान्वयन गरिने बताए ।

कार्यक्रममा पार्टी उपाध्यक्ष केशवलाल श्रेष्ठ, नेताहरू प्रतापलाल श्रेष्ठ, विजय गुरुङ, दिलु पन्त, श्रीराम कार्कीलगायतले आफ्नो पार्टीको पक्षमा जनलहर आएको बताए । भेलाबाट श्रीराम पौडेलको अध्यक्षतामा ३७ सदस्यीय नेकपा (एकीकृत समाजवादी) तनहुँ–काठमाडौँ सम्पर्क मञ्च गठन गरिएको छ । कार्यक्रममा नेकपा (एमाले), नेपाली काँग्रेसलगायत पार्टी परित्याग गरी एकीकृत समाजवादी प्रवेश गरेका ५३ जनालाई अध्यक्ष नेपालले पार्टीमा स्वागत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस