गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याउने तयारी « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याउने तयारी


४ मंसिर २०७८, शनिबार


काठमाडौँ । अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याइने तयारी गरिएको छ ।

कारागार व्यवस्था विभागले गिरीलाई सप्तरीबाट फेरि विराटनगर स्थानान्तरण गर्ने निर्णयसँगै गिरी पुनः मोरङ कारागार आउने भएका हुन् । उनलाई आज मोरङ कारागार ल्याइने तयारी भइरहेको छ ।

कारागार व्यवस्था विभागले गिरीलाई सप्तरीबाट फेरि विराटनगर स्थानान्तरण गरिएको जानकारी पत्र मोरङ कारागार प्रशासनलाई पठाएको थियो । सप्तरी पठाएको १६ दिनपछि उनको विराटनगर सरुवा भएको हो । काँग्रेसनिकट गिरी विराटनगर बासी हुन् ।

यसअघि मोरङ कारागारमा रहँदा गिरीले जेलभित्रैबाट असुली र फिरौती धन्दा चलाएको आरोप लागेपछि २०७४ चैत २३ गते डिल्लीबजार कारागार सारिएको थियो । २०७८ कात्तिक १६ गते डिल्लीबजार कारागारबाट मोरङ ल्याइएका गिरीलाई कैदीबन्दीको अवरोधपछि जिल्ला कारागार सप्तरी पठाइएको थियो ।

नेपाली काँग्रेस नेताहरुको दबावमा गिरीलाई मोरङ पठाउने निर्णय भएको बताइन्छ । कैदीबन्दीको विरोधपछि कात्तिक १६ गते बिहानमात्रै उनलाई विराटनगर ल्याइयो । गिरीलाई ल्याएपछि कारागारभित्र कैदीबन्दी र बाहिर कैदीबन्दीको आफन्तले प्रदर्शन गरे । स्थिति असामान्य बनेपछि उनलाई सोही दिन सप्तरी सरुवा गरिएको थियो। सप्तरीबाट मोरङ आउने तयारी गरेपछि गिरीलाई ल्याउन नहुने भन्दै कैदीबन्दीले कारागार व्यवस्था विभागमा निवेदन दिएका थिए । तर सप्तरीबाट १७ दिनमै विराटनगर सरुवा भएको हो ।

गत कात्तिक १६ गते गिरीले कारागारमा प्रवेश नपाएपछि गिरीकै योजनामा कात्तिक २४ गते झडप भएको थियो । झडपमा गिरीको विपक्षमा रहेका चौकीदार किरण गुरुङसहित ६ जना घाइते भएका थिए । झडपपछि गिरीको विपक्षमा रहेका चौकीदारसहित १४ जना नाइकेको सरुवा भएको थियो । गुरुङको सरुवापछि गिरीको पक्षमा रहेका कार्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिइएको थियो । चौकीदारको जिम्मेवारी पाएपछि कामत पनि गिरीलाई प्रवेश गर्न नदिने पक्षमा उभिएका छन् ।

विराटनगरमा रहँदा गुण्डागर्दी गरेपछि अभिषेक गिरीको २०७४ साल चैत २३ गते डिल्लीबजार स्थानान्तरण भएको थियो । उनको सरुवा पछि नवीन राईलाई चौकीदारको जिम्मेवारी दिइएको थियो । पुनः गिरीलाई मोरङ ल्याइने भएपछि राईलाई गत असोज १८ गते झुम्का कारागार स्थानान्तरण गरिएको थियो ।

राईलाई झुम्का लगिएपछि किरण गुरुङलाई मोरङ कारागारमा अर्को व्यवस्था नभएसम्मका लागि चौकीदारको जिम्मेवारी दिइएको थियो । उनको पनि सरुवा भएपछि कार्तिक कामतलाई जिम्मेवारी दिइएको हो । गिरी विराटनगर आए चौकीदारको जिम्मेवारी उनले नै पाउनेछन् । दुई सय ५० जना क्षमता रहेको कारागारमा नौ सय ५३ कैदीबन्दी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस