एमालेको महाधिवेशन केन्द्रित विशेष बुलेटिन प्रकाशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमालेको महाधिवेशन केन्द्रित विशेष बुलेटिन प्रकाशन


३ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा सो पार्टीको केन्द्रीय प्रचार विभागले ‘नवयुग’ पत्रिकाको दैनिक ई–बुलेटिन प्रकाशनलगायत कार्यक्रम अघि सारेको छ । ‘नवयुग’ सो पार्टीको आधिकारिक मुखपत्र हो ।

विशेष बुलेटिनमा पार्टीका शीर्ष नेताका अन्तर्वार्ता, लेख, विचार, महाधिवेशन केन्द्रित गतिविधि समेटेर महाधिवेशन अवधिभर हरेक दिन साँझ प्रकाशन हुने विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

एमालेले पार्टीको आधिकारिक फेसबुकबाट दैनिक शीर्ष नेताको प्रत्यक्ष भिडियो अन्तर्वार्ता पनि आरम्भ गरेको छ भने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व र कलाकारबाट महाधिवेशनलाई प्राप्त भिडियो सन्देशको प्रसारण गर्दै आएको छ ।

केन्द्रीय सदस्य थापाले प्रचारकै क्रममा यही मङ्सिर ७ गते युवा सङ्घ नेपाल, अनेरास्ववियु, खेलकुद महासङ्घलगायत सङ्गठनको आह्वानमा काठमाडौँबाट चितवनसम्म र देशैभरि मोटरसाइकल र्‍याली गरिने जनाए ।

यसैगरी पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता एवं तत्कालीन महासचिव मदनकुमार भण्डारी र तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको जीवनी र योगदानमा आधारित भिडियो निर्माण गरिने भएको छ ।

साथै विभागले देशका महत्त्वपूर्ण स्थानमा प्रचारका डिजिटल डिस्प्ले, बोर्ड राख्ने तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ पत्रकार तथा बुद्धिजीवीसँग अन्तर्क्रिया गर्ने लगायत योजना तय गरेको छ ।

सो पार्टीले सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईको संयोजकत्वमा महाधिवेशन प्रचार समिति गठन गरेको छ । एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस