एमाले महाधिवेशन प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल र्‍याली « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एमाले महाधिवेशन प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल र्‍याली


२ मंसिर २०७८, बिहिबार


चितवन । नेकपा एमालेको १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गरिने भएको छ ।

दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली गरिने बताएका हुन् । र्‍याली यही मङ्सिर ७ गते हुनेछ ।

महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनले यहाँ बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले विशेष गरी काठमाडौँ–चितवन, बुटवल–चितवन र वीरगन्ज–चितवन लक्षित गर्दै मोटरसाइकल र्‍याली गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार मङ्सिर १० गते १२ बजे नारायणगढ जाऔँ भन्ने आह्वान गर्न र्‍याली आयोजना गर्न लागिएको हो । बागमती, लुम्बिनी र प्रदेश नं २ का प्रादेशिक पार्टी र जनसङ्गठनको तहबाट र्‍यालीको संयोजन हुने सो अवसरमा जानकारी दिइएको थियो ।

मङ्सिर ७ देखि ९ गतेसम्म मुख्य राजमार्गमा आकर्षक स्वागतद्वार निर्माण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । एक जिल्ला एक स्वागतद्वार निर्माणमा जोड दिइएको उनले जानकारी दिए । मुख्य गरी पूर्व–पश्चिम÷उत्तर–दक्षिणबाट चितवनतर्फ लक्षित राजमार्ग र पालिका, मुख्य बजारमा अभियानको रूपमा यसलाई व्यवस्थित गरिने छ ।

एमालेले महाधिवेशनमा कुनै पनि भित्ते लेखन तथा पोस्टर नटाँसेर डिजिटल मिडियाको प्रयोग गरिने संयोजक भट्टराईले बताए । प्रचार समितिले मैथेली, भोजपुरी, अवधि, थारु, तामाङ, चेपाङ, नेपाली र अङ्ग्रेजीलगायतका भाषामा प्रचार ब्यानर र भिडियो क्लिप निर्माण गरिरहेको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा एमालेले महाधिवेशनमा कम्तीमा ३० भिडियो तथा अडियो क्लिप र वृत्तचित्र बनाएर प्रचार गर्ने तयारी गरेको छ । एमालेले महाधिवेशनलाई लक्षित गरेर प्रचारप्रसारका लागि सञ्चारमाध्यमका साथै फेसबुक, टिकटक र ट्विटर लगायतका सामाजिक सञ्चालको प्रयोग गर्ने उनको भनाइ छ ।

उनले सबै कम्युनिस्ट एमालेमा समायोजन गर्दै अघि बढ्न महाधिवेशनले सहयोग पुग्ने बताए । उनले भने, ‘अब कम्युनिस्टहरू वैचारिक र सैद्धान्तिक हिसाबले एउटै पार्टी बन्नेछन् ।’ अहिले देशमा दुई विचार धार रहेको भन्दै उहाँले अघिल्ला गल्तीलाई दोहोर्‍याइन एकता गरिने बताए । एमालेको नेतृत्वमा कम्युनिस्ट पार्टी बन्ने उनको भनाइ थियो ।

संयोजक भट्टराईले दर्जनौँ देशका राजनीतिक दलका प्रतिनिधिलाई महाधिवेशनमा निमन्त्रणा गरिएको बताए । उनले भने, ‘एसियाका कतिपय देशका राजनीतिक दलका प्रतिनिधि आउने निश्चित गरिसकेका छन्, नेपालस्थित विदेशी नियोगका प्रतिनिधिलाई पनि महाधिवेशनमा निमन्त्रणा गरिसकिएको छ ।’ भट्टराईले देशका ९५ प्रतिशत जिल्लाका विभिन्न सङ्गठनमा महाधिवेशन प्रतिनिधि सर्वसम्मत भइसकेकाले यस पटकको महाधिवेशनमा सर्वसम्मत नै पार्टी नेतृत्व चयन गरिने दाबी गरे ।

प्रचारप्रसार सहयोग समिति गठन

यसैबिच महाधिवेशनको प्रचारप्रसारलाई थप व्यवस्थित गर्न १० औँ महाधिवेशन प्रचारप्रसार सहयोग समिति गठन गरिएको छ । प्रदेशसभा सदस्य विजय सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय चितवन समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा एमाले नेता केशव रेग्मी र सचिवमा पत्रकार तिलकराम रिमाल रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस