सचिवको कर्मचारी ‘सेटिङ’ भत्काउँदै मन्त्री झाक्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सचिवको कर्मचारी ‘सेटिङ’ भत्काउँदै मन्त्री झाक्री


१ मंसिर २०७८, बुधबार


काठमाडौँ । निजामतीमा ‘सेटिङ’ पछिल्लो समय नौलो विषय रहेन । त्यसमा पनि काम गर्ने कर्मचारीको टीम मिलाउनु नराम्रो नभए पनि ‘निहित इन्ट्रेस्ट’का लागि खटाइएको टोलीले जनताको भन्दा आफ्नो र खटाउनेको चाहनामा काम गर्ने हुँदा त्यसले सिङ्गो कर्मचारी बदनामित छ । जसको उदाहरण हो शहरी विकास मन्त्रालय

मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहको योजनामा २०७७ माघमा शहरी विकास विभागको महानिर्देशकलगायत आकर्षक निकायहरूमा कर्मचारीको सरुवा भएको थियो । तत्कालीन मन्त्री प्रभु शाहलाई आफूअनुकुल ब्रिफिङ गरी पहिलो नम्बरका सहसचिव पदम कुमार मैनालीलाई पन्छ्याएर तेस्रो बरिएताका नवराज प्याकुरेललाई महानिर्देशक बनाइएको थियो । जसको कर्मचारी वृत्तमा निकै आलोचना भएपनि त्यसै सामसुम पारिएको थियो ।

सम्बन्धित समाचार : सचिव सिंहको खेलोमा सिनियर कर्मचारीलाई लात, जुनियरलाई विभागको महानिर्देशक !

छानी-छानी मालदार निकायमा आफ्नालाई खटाइएको विषय नवनियुक्त मन्त्री रामकुमारी झाक्रिकहाँ पुगेपछि उनले महानिर्देशक प्याकुरेलसहित १८ जना कर्मचारीको सरुवा गरेकी छिन् ।

प्रशासनलाई प्राप्त जानकारी अनुसार शहरी विकास विभागका महानिर्देशक नवराज प्याकुरेललाई मन्त्रालयमा र मन्त्रालयका सहसचिव पदम कुमार मैनालीलाई विभागमा पठाइएको छ । यसैगरी शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक दिलीप भण्डारीलाई अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको आयोजना प्रमुखमा खटाइएको छ भने त्यहाँका सिडिई रवीन्द्र बोहोरालाई विभागमा सरुवा गरिएको छ ।

टुकुचा ट्रिटमेन्ट प्लान्टका लागि कम्पनी छनौटमा सेटिङ भइरहेको कुरा मन्त्री झाक्रिकहाँ पुगेपछि सोबारे अहिले छानबिन भइरहेको छ । करिब ७ अर्बको उक्त आयोजनमा एक प्रतिशतको मात्रै हिसाब गर्दा सात करोड हुन आउँछ ।

यसैगरी सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापका नारायण भण्डारीलाई काठमाडौँ उपत्यका विकास प्राधिकरणको कायम मुकायम नायव विकास आयुक्तको कार्यालय काठमाडौँ, सिडिई सचिन्द्र कुमार देवलाई सघन शहरी तथा भवन निर्माण आयोजना दाङबाट सप्तरी, एकराज अधिकारीलाई शहरी विकास तथा भवन निर्माण विभागबाट सङ्घीय आयोजना कार्यान्वयन इकाई धनुषा, शिखर लामा तामाङलाई विभागबाट सघन शहरी तथा भवन निर्माण आयोजना, पर्सा, रमेश थिंगलाई सङ्घीय आयोजना कार्यान्वयन इकार्य बाँकेबाट सङ्घीय आयोजना कार्यान्वयन इकाई रुपन्देही, त्यहाँ कार्यरत विदुर खड्कालाई सङ्घीय आयोजना कार्यान्वयन इकाई बाँके, रोशन श्रेष्ठलाई नयाँ शहर आयोजना समन्वय इकाई बबरमहलबाट सङ्घीय अयोाजना कार्यान्वयन इकाई मोरङ र त्यहाँ कार्यरत गङ्गा प्रसाद यादवलाई सहरी विकास तथा भवन निर्माण विभाग, हिमाल के.सी.लाई विभागबाट नयाँ शहर आयोजना समन्वय कार्यालय, प्रकृर्ण तुलाधरलाई सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाबाट विशेष भवन निर्माण आयोजना बबरमहल, प्रदीप कुमार सिंहलाई मन्त्रालयबाट सघन सहरी तथा भवन निर्माण आयोजना जुम्ला सरुवा गरिएको छ ।

यसैगरी इन्जिनियरत्रय खड्ग बहादुर चौधरीलाई सङ्घीय आयोजना कार्यान्वयन इकाई बाँकेबाट सघन शहरी तथा भवन निर्माण आयोजना दाङ, प्रदीप कुमार खनाललाई सङ्घीय आयोजना कार्यान्वयन इकाई धनुषाबाट शहरी विकास तथा भवन निर्माण विभाग र सुदर्शन शर्मालाई सघन शहरी तथा भवन निर्माण आयोजना झापाबाट मन्त्रालयमा सरुवा गरिएको छ ।

‘मन्त्रालय तथा मातहतका निकायहरूबारे आन्तरिक तथा बाह्य स्रोतहरूबाट जानकारी लिएपछि मन्त्रीज्यूले केही नीतिगत निर्णयसँगै सेटिङमा खटाइएको कर्मचारीको जालो तोड्नु भएको हो’, मन्त्रीको सचिवालय स्रोतले प्रशासनलाई भन्यो,‘राजनीतिक भविष्य उज्ज्वल रहेको महसुस गरेरै होला, खेलोमेलोमा नअल्झेर काम देखाउने हेतुले नै सुधारको सुरुवात गरेको देखिन्छ’

यसबारे सचिव सिंहसँग प्रतिक्रिया लिँदा मन्त्रीले गरेको निर्णय आफूले कार्यान्वयन गरेको र अन्य केही नभएको बताए ।

अब पालो ‘डन कर्मचारी’ सरुवाको
मन्त्रालय स्रोतका अनुसार यसपछि वर्षौँदेखि मन्त्रालय तथा अन्तर्गतका निकायमा कार्यरत ‘डन कर्मचारी’ को सरुवा गर्ने तयारी रहेको छ ।

जसमध्ये पहिलो चरणमा काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गत जिल्ला आयुक्तको कार्यालय ललितपुरका आठौँ तहका पूर्ण महर्जन, जिल्ला आयुक्तको कार्यालय भक्तपुरका गणेश राम कोजु र जिल्ला आयुक्तको कार्यालय काठमाडौँका शाखा अधिकृत सुरेश रेग्मी रहेका छन् । ललितपुर र भक्तपुरमा दशकौँदेखि कार्यरत रहेका छन् । लामो समयदेखि एउटै ठाउँमा राखिनुको उद्देश्य नै ‘सेटिङ’मा काम गर्न सहज होस् भनेर रहेको सचिवालयका एक कर्मचारीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस