सचिव सिंहको खेलोमा सिनियर कर्मचारीलाई लात, जुनियरलाई विभागको महानिर्देशक ! « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सचिव सिंहको खेलोमा सिनियर कर्मचारीलाई लात, जुनियरलाई विभागको महानिर्देशक !


१३ माघ २०७७, मंगलबार


काठमाडौँ । सरकारी कार्यालयमा सुशासन कायम राख्न नीति नियम भएर मात्रै हुँदैन, कार्यालयमा ठुलो पद ओगटेर बस्ने व्यक्ति वा कर्मचारी पनि नैतिकवान् हुनुपर्छ । इमानदार र अनुशासित हुन जरुरी हुन्छ । जब कर्मचारी इमानदारीले काम गर्छन् तब कार्यालयमा सुशासन भएको आभास सहजै गर्न सकिन्छ ।

कर्मचारीको वृत्ति विकासमा होस् वा अन्य अवसरका कुरामा नै किन नहोस् कार्यालयका नियमानुसार अर्थात् सिनियर कर्मचारीलाई पाखा लगाउने र जुनियर कर्मचारी अथवा आफ्ना निकटका मान्छेलाई काखी च्याप्ने कामले पक्कै पनि सुशासन खलबल्याउँछ नै । यसले सार्वजनिक क्षेत्रमा नराम्रो संस्कारलाई पनि मलजल गर्छ ।

वरियता मिचेर हालै मात्रै शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक बन्नुपर्ने सिनियर कर्मचारीलाई लत्त्याउँदै जुनियर कर्मचारी नवराज प्याकुरेललाई बनाइएको विषय अहिले कर्मचारी वृत्तमा चर्चाको विषय बनेको छ ।

मन्त्रालयबाट भएको यो कदम मन्त्रालय र विभागको लागि मात्रै नभई समग्र कर्मचारीका लागि पनि अस्वाभाविक भएको जानकारहरूले टिप्पणी गरेका छन् । उनीहरूले यस कदमलाई मन्त्रालय र विभागको ‘इन्स्टिीच्युसनल मेमोरी’लाई सिध्याउने खेलका रूपमासमेत लिएका छन् ।

वरियताको हिसाबले हेर्ने हो भने पहिला नम्बरमा महानिर्देशक हुनुपर्ने विभागका उपमहानिर्देशक पदम कुमार मैनाली हुन् । उनी नभए विभागका अर्का उपमहानिर्देशक रामचन्द्र दंगाल हुन् । तर महानिर्देशक तेस्रो वरियताका नवराज प्याकुरेललाई बनाइयो ।

विभागको महानिर्देशक बन्ने लाइनमा तेस्रो वरियतामा रहेका सहसचिव प्याकुरेललाई महानिर्देशक बनाउने सबै सेटिङ सहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहको भएको बुझिएको छ ।

मन्त्रालयका हरेक काममा प्रभाव पार्न सक्ने ठाउँमा काम गराउन सहज हुने गरी प्याकुरेललाई महानिर्देशक बनाउनकै लागि सचिव सिंहले करिब डेढ महिनासम्म पद खाली राखेको आरोप अहिले कर्मचारीहरूले नै सिंहमाथि लगाएका छन् । सिंह पहिले सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक भइसकेका छन् । त्यसताका जोडेको ‘सेटिङ’लाई निरन्तरता दिने महानिर्देशकको खोजीमा थिए सचिव सिंह ।

वरियताका हिसाबले पहिलो नम्बरमा रहेका मैनालीलाई महानिर्देशक नै बनाउनै नहुने अवस्था पनि खासै नदेखिएको विभाग स्रोत बताउँछ । उनी नेतृत्व क्षमता नै नभएको या खराब आचरण भएको अवस्था पनि पुष्टि भएको छैन । यद्यपि मैनालीको ‘अहमता’ र ‘नेप्रिएको’ स्वभावबारे भने उनलाई चिन्ने जोकोहीलाई राम्ररी थाहा छ । तर व्यक्तिको स्वभावलाई लिएर नियम र परम्परा मिच्ने कुरालाई राम्रो भन्न सकिँदैन । यदि यही कारणले मैनालीलाई महानिर्देशक दिनै नहुने सचिवले देखेका थिए भने दुई नम्बरका रामचन्द्र दंगाल पनि प्रबल दाबेदार थिए । तर उनलाई पनि किनारा लगाएर सचिव सिंहले तेस्रो नम्बरका प्याकुरेललाई अघि सारेपछि ‘दालले कुच काला हे’ भन्छ मन्त्रालय उच्च स्रोत ।

पहिलो नम्बरका मैनालीलाई पन्छ्याउनुमा अर्को पनि एउटा कारण छ -सचिवसँगको सम्बन्ध । मैनाली र सचिव सिंहबिच पहिलेदेखि नै सम्बन्ध राम्रो थिएन । यती सम्मकी कार्य सम्पादन मूल्याङ्कन(कासमु) रेट्ने सचिवको धम्की पछि मैनाली त्यही डरले वित्त आयोगमा सरुवा मागेर गएका थिए ।

तर दोस्रो नम्बरका दंगालको विषयमा भने ‘मलाई बनाई दिनु पर्‍यो’ भनेर नगएकै र उनको ‘चाह’ नबुझेकै कारण नबनाएको बुझिएको छ । पहिलो नम्बरका मैनालीलाई नबनाए पनि दोस्रोमा भने आफू हुन सक्नेमा ढुक्क रहेका दंगाल तब छाँगाबाट खसे, जब तेस्रो नम्बरका प्याकुरेललाई नियुक्त गरे ।

त्यसो त तत्कालीन विभागका महानिर्देशक मणिराम गेलाल सचिवमा बढुवा भएर बिदा भईसकेपछिका केही दिनमा महानिर्देशक बनाउन करोडौँको खेल भइरहेको गाइँगुइँ नचलेको होइन । जुन विषय विभागमा मात्रै सीमित नरही प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पनि पुगेको थियो ।

सचिव सिंहकै ‘इन्ट्रेस्ट’मा महिनौँसम्म महानिर्देशक पद रिक्त राखिएको घाम जतिकै छर्लङ्ग छ र अहिले नयाँ मन्त्री प्रभु शाहलाई आफूअनुकुल ब्रिफिङ गरी प्याकुरेललाई सेट गर्न उनी सफल भएको मन्त्रालय स्रोत बताउँछ ।

महानिर्देशक नियुक्तिसँगै अन्य दर्जनौँ कर्मचारीहरूको पनि सरुवा गरिएको छ । तेस्रो वरियताका प्याकुरेललाई विभागको महानिर्देशक बनाउँदा जुनियरको मातहतमा सिनियर राख्न नमिल्ने भएपछि उनीभन्दा जुनियर तहकालाई ल्याउनु पर्ने बाध्यात्मक परिस्थितिले सिनियर उपमहानिर्देशकहरु सहरी विकास मन्त्रालयमा तानेर जुनियरहरुलाई उपमहानिर्देशक बनाइएको छ ।

जसअनुसार विभागका उपमहानिर्देशक पदम कुमार मैनालीलाई सहरी विकास तथा भवन निर्माण विभागबाट सहरी विकास मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ । अर्का उपमहानिर्देशक रामचन्द्र दंगाललाई सहरी विकास तथा भवन निर्माण विभागको पुल दरबन्दीमा राखी यसअघि प्याकुरेल रहेका अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिमा काज खटाइएको भए पनि उनले त्यहाँ नजाने भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट वित्त आयोगमा सरुवा गराएर हाजिर नै भइसकेका छन् ।

वरियतामा सबैभन्दा तल सातौँ, आठौँ र नवौँ नम्बरमा रहेका कुमारप्रसाद घिमिरे, दिलीप भण्डारी र सुरेन्द्र मोहन श्रेष्ठलाई विभागको उपमहानिर्देशक बनाइएको छ ।

घिमिरेलाई सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट सरुवा गराई ल्याएर सहरी विकास तथा भवन निर्माण विभागको उपमहानिर्देशक बनाइएको हो ।

त्यस्तै उपमहानिर्देशकमा पदाधिकार शहरी विकास तथा भवन निर्माण विभागमा कायम गर्ने गरी श्रेष्ठलाई ल्याइएको छ भने सहरी विकास तथा भवन निर्माण विभागको पुल दरबन्दीमा राखी विशेष भवन निर्माण आयोजनामा कामकाज गरिरहेका दिलीप भण्डारीलाई विभागमा सरुवा गरिएको छ ।

सिडिई दिलीप शेखर श्रेष्ठलाई सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको सु।ई। पदमा कायम मुकायम मुकरर मा कायम मुकायम तोकिएको छ ।
हाल सहरी विकास तथा भवन निर्माण विभागमा रहेका सिनियर डिभिजन इन्जिनियर परीक्षित परिक कडरियालाई नेपाल सहरी शासकीय क्षमता र पूर्वाधार सुधार आयोजना–दोस्रो मा कायम मुकायम आयोजना प्रमुखको रूपमा खटाइएको छ ।

त्यसो त विभागमा हुने चलखेल यो नै पहिलो र अन्तिम भने होइन । करोडौँको सरकारी बजेटसँगै अरबौँका आयोजनाहरू चलाउन पाउने र दसौँ करोड कन्सल्टेन्सीका नाममा आफ्ना तथा आफन्तसमेत पोस्न पाउने भएकोले यहाँको नेतृत्वमा जान जो कोही पनि मरिहत्ते गर्नु स्वाभाविक हो । तर, राज्यले विश्वास गरेका उच्च तहकै पदाधिकारीहरूको यो स्तरको कार्य भने कदापि राम्रो मान्न सकिँदैन ।

Tags :
प्रतिक्रिया दिनुहोस