सर्वोच्च अदालतमा सबै खाले मुद्दामा सुनुवाइ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सर्वोच्च अदालतमा सबै खाले मुद्दामा सुनुवाइ


३० कार्तिक २०७८, मंगलबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए । पेसी तोकिएका इजलासमा सबै खालका मुद्दाको सुनुुवाइ भएको छ ।

प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा पेसी तोकेका थिए। त्यसमध्ये आठवटा संयुक्त र दुईवटा एकल इजलास थिए । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मी, न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा कुमार चुँडाल, न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा सबै खाले मुद्दामा सुनुवाइ भएको हो । अरु इजलासमा भने बेन्च नबसेको, हेर्न नभ्याइने जनाएको हो ।

यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गरेका थिए ।

सर्वोच्च अदालतको यही कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरूलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन्।

प्रधानन्यायाधीश राणाले सोमबार प्रेस विज्ञप्तिमार्फत आन्दोलनरत पक्षको माग सम्बोधनका लागि वार्तामा बोलाउँदै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित अन्य प्रतिवेदन पनि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस