चार राजनीति दल र छ वडाध्यक्षद्वारा नगरपालिकाको कार्यक्रम बहिष्कार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चार राजनीति दल र छ वडाध्यक्षद्वारा नगरपालिकाको कार्यक्रम बहिष्कार


३० कार्तिक २०७८, मंगलबार


काठमाडौँ । टोखा नगरपालिकाले आज सद्भाव व्याङ्क्वेटमा आयोजना गरेको नगर स्मारिका विमोचन, सम्मान एवं सार्वजनिक सुनुवाइ कार्यक्रमलाई चार राजनीति दल एवं छ वडाध्यक्षले बहिष्कार गरेका छन् ।

विधि र पद्दति मिचेर कार्यपालिका बैठकमा बहुमत वडाध्यक्षलाई जानकारी नै नगराई बैठक आह्वान गरेको भन्दै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र विवेकशील साझा पार्टीले कार्यक्रम बहिष्कार गरेको नेकपा (एकीकृत समाजवादी) टोखा नगर समितिका अध्यक्ष एवं टोखा वडा नं ९ का वडाध्यक्ष जोगप्रसाद नेपालले जानकारी दिए ।

“राजनीतिक पूर्वाग्रहका आधारमा नगरभित्रका राजनीतिक दललाई निषेध गरेर कार्यक्रम तय गरेकाले हामीले कार्यक्रम बहिष्कार गरेका हौँ”, उनले भने ।

नेपाली काँग्रेस टोखा नगरपालिकाका सभापति ओमकृष्ण विमलीले आगामी निर्वाचनलाई प्रभावित गर्ने मनसायले कार्यक्रम राखिएकाले आफूहरूले उक्त कार्यक्रम बहिष्कार गरेको बताए । ‘नगरको कोषलाई मनपरी ढङ्गले भोजभतेरमा खर्च गरिएकाले हामी कार्यक्रममा सहभागी नभएका हौँ’, उनले भने । कूल ११ वडा रहेको टोखामा छलफलबिना नै कार्यक्रम आयोजना गरिएको भन्दै छ वडाध्यक्षले कार्यक्रम बहिष्कार गरेका छन् । कार्यक्रम बहिष्कार गर्नेमा वडा नं २ का वडाध्यक्ष दीपकराज जोशी, वडा नं ३ का सिंहराज श्रेष्ठ, वडा नं ६ का महेश्वर केसी, वडा नं ८ का केशवबहादुर खत्री, वडा नं ९ का जोगप्रसाद नेपाल र वडा नं ११ का वडाध्यक्ष उत्तम अधिकारी रहेका छन् ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सबैको सल्लाह र छलफलमा कार्यक्रम तय गरेको बताए । विभिन्न राजनीतिक दलले बैठक बहिष्कार गरेर टोखाको विकासमा अवरोध गर्न खोजेको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस