लाओसका सबै विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

लाओसका सबै विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु


३० कार्तिक २०७८, मंगलबार


School

विनतियन । एसियाली मुलुक लाओसका विद्यालयहरूमा सोमबारदेखि भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ ।

सरकारले सूचना जारी गर्दै भौतिक उपस्थितिमै विद्यालयहरूमा पठनपाठन सुरु गर्न आह्वान गरेपछि देशभरका विद्यालयमा पढाइ सुरु भएको हो ।

कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि भौतिक उपस्थितिमा पठनपाठन ठप्प भएकोमा सोमबारदेखि फेरि सूचारु भएको हो ।

महामारी नियन्त्रणसम्बन्धी सरकारी उच्च अधिकारीहरू, सरोकारवालाहरू र विज्ञहरूसँगको छलफल र परामर्शका क्रममा अबदेखि भौतिक उपस्थितिमा पढाइ सुरु गर्नु उपयुक्त हुने सुझाव आएको थियो ।

सुझावका आधारमा सरकारले सूचना जारी गरेपछि विद्यालयका सरोकारवालाहरूले विद्यालय सञ्चालन गरेका हुन् ।

कोरोनाभाइरस फेरि फैलिन नदिनका लागि सतर्कता भने अपनाइरहनु पर्नेमा विज्ञहरूले जोड दिएका छन् । तर अहिले प्रतिबन्धात्मक व्यवस्था भने कुनै नरहेको उनीहरूको भनाइ छ ।

सरकारले विमानस्थल तथा जल यातायात मार्फत मानिसहरूलाई आवतजावत गर्न वा सामानहरू ओसारपसार गर्न दिन थालेको छ ।

त्यसैगरी कुनै पनि यात्रुहरूलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था पनि अहिलेका लागि हटाइएको अधिकारीहरूले जनाएका छन् ।

सबै क्षेत्रमा खुल्ला गरेसँगै देशभरिको जनजीवन पनि अहिले सामान्य हुँदै गएको र आम नागरिक खुसी भएको समाचारमा जनाइएको छ ।

लाओस सरकारले यही वर्ष सन् २०२१ को अन्त्यसम्ममा खोप लगाउन मिल्ने कूल जनसङ्ख्याको आधालाई खोप लगाइसक्ने योजना बनाएको छ ।

लाओसमा अहिलेसम्म कोरोनाभाइरसबाट ५५ हजार १८ जना सङ्क्रमित भएका छन् भने १०४ जनाको कोरोनाकै कारणले मृत्यु भएको छ ।

त्यसैगरी लाओसमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १० हजार १५८ रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस