लुम्बिनी प्रदेशमा वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लुम्बिनी प्रदेशमा वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित


२९ कार्तिक २०७८, सोमबार


बुटवल । लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को उपस्थितिबिना आज प्रदेशसभा सञ्चालन भएको छ । बैठक सुरु भए लगत्तै प्रतिपक्षी दलको अवरोधका कारण आधा घण्टा स्थगन भएको प्रदेशसभामा दोस्रो पटकको बैठक नेकपा एमालेले बहिष्कार गरेको थियो ।

नेकपा एमालेले प्रदेशसभा सदस्यद्वय अजय शाही र विमलाकुमारी खत्रीलाई पदमुक्त नगरेको भन्दै प्रदेशसभाको बैठक अवरोध गर्दै आएको छ । बैठकमा वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । वन, वातावरण तथा भूसंरक्षणमन्त्री सुरेन्द्रबहादुर हमालले वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि मन्त्री हमालले सो विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

सो अवसरमा मुख्यमन्त्री कुलप्रसाद केसीले विकास सबैको साझा आत्मा भएको उल्लेख गर्दै प्रमुख प्रतिपक्षी दललाई सहकार्य गरेर लोकतान्त्रिक संस्कार अनुसरण गर्न आग्रह गरे। उनले दुई प्रदेशसभा सदस्यलाई लक्षित गरेर अदालतमा विचाराधीन मुद्दालाई गलत व्याख्या गरेको भन्दै संसदीय इतिहासमा नौलो घटना भएको बताए । मुख्यमन्त्री केसीले संसद्को गरिमालाई प्रमुख प्रतिपक्षी दलले बेवास्ता गरेको उल्लेख गर्दै सरकारको रणनीतिक योजनामा हेरफेर नगरेको स्पष्टीकरण दिए।

Tags :
प्रतिक्रिया दिनुहोस