सुर्खेतमा एक अर्ब ५९ करोडमा कर्णाली रङ्गशाला निर्माण सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुर्खेतमा एक अर्ब ५९ करोडमा कर्णाली रङ्गशाला निर्माण सुरु


२९ कार्तिक २०७८, सोमबार


कर्णाली । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० लगानीमा रङ्गशाला निर्माण सुरुआत गरिएको छ । प्रदेश सरकारको लगानीमा सो रङ्गशाला निर्माण सुरु भएको हो ।

रङ्गशाला निर्माणार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यमन्त्री जीवनबहादुर शाहीका उपस्थितिमा कर्णाली प्रदेश खेलकुद परिषद् र निर्माणको जिम्मा लिएको कम्पनी एमएसी/जिएसएल जोइन्ट भेन्चुर कान्ति पथ काठमाडौँबिच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सो अवसरमा मुख्यमन्त्री शाहीले मुलुक विकासको मेरुदण्डका रूपमा कार्यरत प्राविधिक जनशक्तिले यसको निर्माणार्थ अहोरात्र खट्न आग्रह गरे । ‘हरेक ठुला आयोजना सङ्घ सरकारबाट हुँदै आएका छन् तर यति बेला कर्णाली प्रदेश सरकारले पहिलो प्रदेश गौरवको आयोजनाका रूपमा ठुलो लगानी गरेर रङ्गशाला निर्माणको कार्यलाई अगाडि बढाएको छ’, उनले भने, ‘यसको निर्माण कार्य जिम्मा लिएको कम्पनीले तोकिएको मितिभन्दा अगावै सक्ने गरी दिनरात खटिएर काम गर्न अनुरोध गर्दछु ।’ प्राकृतिकरुपले सम्पन्न कर्णालीको विकासमा दत्तचित्त भएर लाग्न निर्माण व्यवसायीलगायत राष्ट्रसेवक सम्पूर्ण कर्मचारीलाई उनले सुनाए ।

कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्जालले ई पिसी डिजाइन एन्ड बोल्डअनुसार सम्झौता भएको रङ्गशालाको निर्माण फिफा स्ट्याण्डर्डमा हुने जानकारी दिए ।

‘हामीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने उद्देश्यका साथ निर्माणको काम आइतबारदेखि लागू हुने गरी सम्झौता गरेका छौँ’, उनले भने, ‘दश हजार दर्शक अट्ने क्षमताको प्यारा फिटसहितको रङ्गशालाको निर्माण कार्य ३० महिनामा सम्पन्न हुनेछ ।’

प्रदेश सरकारअन्तर्गतको पहिलो अन्तर्राष्ट्रिय बोलपत्र आह्वान विसं २०७८ असार ३१ गते भई छ बोलपत्रदाताको सहभागितामा ०७८ भदौ २१ गते खोलिएको उनले जानकारी दिए ।

नेपाली र भारतीय निर्माण व्यवसायीको साझेदारीमा सञ्चालित एमएसी÷जिएसएल जो इन्टर भेन्चुरका आधिकारिक प्रतिनिधि अनुप आचार्यले नमुना र गुणस्तरयुक्त रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘हामीसँग रङ्गशाला निर्माणको राम्रो अनुभव छ’, उनले भने, ‘यसअघि दाङ सम्पन्न गरिसकेका छौँ भने पोखरा अन्तिम चरणमा छ ।’

रङ्गशालाको संरचना

दश हजार दर्शक क्षमताका रङ्गशालामा भूकम्प प्रतिरोधी प्यारो फिट बन्नेछ । भिआइपी प्यारो फिट, मिडिया रुम, रेफ्री, चेन्जिङ र रिफ्रेस रुम, मेडिकल रुम, फिजियोथेरापी, भिआइपी वेटिङ रुमका साथै अन्डरग्राउन्ड पार्किङ निर्माण गर्ने गरी रङ्गशालाको डिजाइन गरिएको परिषद्का सदस्य सचिव सञ्जालले जनाए ।

उनका अनुसार टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म, रङ्गशालाभित्रै ओलम्पिक टर्च स्ट्यान्ड र फिफा मापदण्डकै स्विमिङ पुल पनि निर्माण हुनेछ । यसभित्र एक हजार ५०० दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल, भलिबल, ह्यान्डबललगायतका खेल खेल्न मिल्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस