त्रिविका चार पूर्वउपकुलपतिको आग्रह- अदालतको संकट समाधानका लागि दलहरूले कदम चालुन् « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

त्रिविका चार पूर्वउपकुलपतिको आग्रह- अदालतको संकट समाधानका लागि दलहरूले कदम चालुन्


२७ कार्तिक २०७८, शनिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का चार जना पूर्वउपकूलपतिहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई लिएर सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्नका लागि अग्रसरता लिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

पूर्वउपकूलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनप्रकाश जंग शाहले शनिबार ‘बार एसोसिएसनको आन्दोलनको न्यायोचित निकासका लागि सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षणन’ शीर्षकमा विज्ञप्ति सार्वजनिक गर्दै त्यस्तो आग्रह गरेका हुन् ।

‘लामो समयदेखि सर्वोच्च अदालतमा भइरहेको बार एसोसिएसनको आन्दोलन र जिम्मेवार निकायहरूले त्यसप्रति देखाएको उदासिनता देशकै लागि ठूलो दुर्भाग्यको विषय बनेको छ । गम्भीर कुरा के भने न्यायालयप्रति जनताको विश्वासमा स्खलन आउन नदिन पनि आन्दोलनले अविलम्ब निकास पाउन जरूरी छ,’ विज्ञप्तिमा उल्लेख छ ।

न्यायालयले जनताको विश्वास गुमाएपछि न्याय पाउन जनता जाने कहाँ ? भन्ने प्रश्न राख्दै पूर्वउपकुलपतिहरूले ‘यस्तो स्थितिप्रति सरकार र राजनीतिक दलहरू संवेदनहीन भएर बस्नु अत्यन्त आश्चर्यलाग्दो छ,’ भनेका छन् ।

‘जनताले सरकारलाई गैरजिम्मेवार र राजनीतिक नेताहरूलाई अवसरवादीको आक्षेप लगाउने स्थिति नआओस् भन्ने हामी चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनसँग गाँसिएको स्थितिको सुधार र समस्याको समाधानतर्फ सरकार र दलहरूले अविलम्ब पाइला चालुन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस