कामु डिभिजन प्रमुखविरुद्ध अक्तियारमा उजुरी « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

कामु डिभिजन प्रमुखविरुद्ध अक्तियारमा उजुरी


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । सडक डिभिजन चन्द्रनिगाहपुरका कायम मुकायम(कामु) डिभिजन प्रमुख नरेश प्रसादविरुद्ध अक्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा उजुरी परेको छ । कार्यालयका लेखा अधिकृतसँगको मिलेमतोमा प्रसादले ठेक्कापट्टा तथा ज्यालादारी कर्मचारी नियुक्तिमा अनियमितता गरेको भन्दै उजुरी परेको हो ।

आर्थिक वर्ष २०७७–०७८ का केही ठेक्काहरूमा बिडबन्ड नै नराखेका ठेकेदार कम्पनीलाई ठेक्का दिएको तथा अनलाइनबाट बुझाउँदा कागजपत्र नै नपुगेको स्वयं ठेकेदारले नै भनिरहँदा पछि उनैलाई ठेक्का परेको जनाएको छ ।

डिभिजनबाट सञ्चालित विभिन्न ठेक्काहरूमध्ये समयमै सम्पन्न नगर्ने निर्माण कम्पनीहरूलाई जरिवाना गरेर मात्र भुक्तानी दिनुपर्नेमा अगाडीकै मिति राखेर म्याद थप गर्दै भुक्तानी गरेको आरोप उनीमाथि छ । समयमै सम्पन्न नभएका ठेक्काहरूको माघ २७ गतेको राष्ट्रिय दैनिकमा सूचना नै प्रकाशित भएकोमा सरकारलाई तिर्नुपर्ने पैसासमेत नतिराई आफूले पैसा खाई भुक्तानी गरेको जनाइएको छ ।

यस्तै डिभिजन प्रमुख केशरीले स्थापना कालदेखि नै लेखा शाखामा ज्यालादारीमा कार्यरत कर्मचारीलाई हटाएर आफ्नै सालो आकाश केशरीलाई भर्ना गरेका छन् । निर्माण व्यवसायीहरूबाट रकम असुल्न सजिलोका लागि नै आफ्ना मान्छे नियुक्त गरेको उजुरीमा उल्लेख छ ।

उनले रोड बोर्डमा समेत नियमविपरित सुपरभाइजरमा गोकुल यादव र लेन्थ वर्करमा सुरेन्द्र यादवलाई नियुक्त गरेको जनाइएको छ ।

केही समय निमित्त रहेका प्रसादलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्र नाथ श्रेष्ठकै विशेष संरक्षणमा कायममुकायम दिइएको थियो । मोटो रकम बुझाएकै कारण अरू कर्मचारीको सरुवा हुँदा उनको भने सरुवा गरिएको थिएन, पछि चौतर्फी विरोध र आलोचना पछि अहिले सरुवा गरिन लागेको बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस