काठमाडौँ । वैज्ञानिकहरू जौको बोटमा वंशाणु परिवर्तन गरेर मासु उत्पादनका लागि अध्ययनमा लागेका छन् ।
बिबिसी समाचारका अनुसार आइसल्यान्डमा वैज्ञानिकहरू वनस्पतिबाट मासु उत्पादन गर्न एक लाखभन्दा बढी वंशाणु परिवर्तन गरिएको जौ हुर्काइरहेका छन् ।
उनीहरूले २२ हजार वर्गफिट क्षेत्रफलमा जौ हुर्काइरहेको बताइएको छ। यो नयाँ प्रयोगले प्रयोगशालामा उत्पादन गरिने मासुका लागि पशुपक्षीमा भर नपरे पनि हुने अवस्था आउन सक्छ ।
अध्ययनकर्ताहरूले यसबाट हरित गृह ग्यास कम उत्सर्जन भई पर्यावरणलाई स्वच्छ राख्न योगदान गर्ने दाबी गर्छन् ।
मासुका लागि धेरै पशुपक्षी पाल्नुभन्दा वनस्पतिबाट मासु उत्पादन गर्दा कम स्थान, ऊर्जा र फोहोर हुने मान्यता रहेको छ। यस्तै ठुलो मात्रामा मासु उत्पादन गर्न जौ सजिलो र सस्तो हुने समेत अनुसन्धानकर्ताले दाबी गरेका छन् ।
अनुसन्धानकर्ताहरूले वनस्पतिबाट मासु उत्पादन गर्दा पर्यावरणका लागि राम्रो हुने बताएका छन्। पशुवध गर्नु नपर्ने, हरित गृह ग्यास कम उत्पादन हुनेलगायतका फाइदा हुने बताएका छन् ।
उत्पादन कसरी हुन्छ ?
‘ग्रोथ फ्याक्टर’ भनिने विशेष प्रोटिन बोक्ने गरी जौमा विशेष परिवर्तन गरिन्छ । त्यसपछि फलेको जौ टिपिन्छ, जम्मा गरिन्छ । अनि पिसिन्छ। त्यसपछि प्रयोगशालामा प्रशोधन गरिन्छ ।
जौमा राखिने ग्रोथ फ्याक्टर पशुपंक्षीबाट लिइएको हो ।







