रोजगारीका लागि छनोट भएका कामदारलाई एक महिनाभित्र इजरायल पठाउने विभागको तयारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

रोजगारीका लागि छनोट भएका कामदारलाई एक महिनाभित्र इजरायल पठाउने विभागको तयारी


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ। वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान छनोट भएका कामदारलाई अबको एक महिनामा इजरायल पुग्ने गरी प्रक्रिया अगाडि बढाएको छ ।

विभागले पहिलो चरणमा रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेका कामदारको प्रहरी प्रतिवेदन र स्वास्थ्य परीक्षण गरी चरणबद्ध रूपमा इजरायल पठाउने तयारी गरेको हो ।

विभागका निर्देशक एवं इजरायल रोजगारी संयोजक डम्बर सुनुवारले एक/दुई दिनभित्रै प्रहरी प्रतिवेदन लिन र स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको नामसहित सूचना आह्वान गर्ने तयारी भएको जानकारी दिए ।

उनले भने, ‘दसैँ र तिहारका कारण इजरायलको प्रक्रिया केही सुस्त भए पनि अब भने धेरै ढिला हुँदैन एक महिनामा सबै प्रक्रिया पूरा गरेर पठाउने काम हुन्छ ।’

निर्देशक सुनुवारका अनुसार इजरायल जाने श्रमिकका लागि विभागले क्रमशः प्रहरी प्रतिवेदन, पीसीआरसहितको स्वास्थ्य परीक्षण, अभिमुखीकरण, श्रम स्वीकृति र उडान तालिका तयार गर्नेछ ।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक श्रमिकको अन्तिम छनोटका लागि नेपालले इजरायलको दूतावासलाई उपलब्ध गराएको योग्यता क्रम सूचीका एक हजार ६०० जना उम्मेदवारमध्येबाट एक हजार १७५ रोजगारीका लागि योग्य भएका थिए ।

इजरायलले सार्वजनिक गरेको चिट्ठा प्रणालीबाट छनोट भएका उम्मेदवारहरूको स्वास्थ्य परीक्षण, प्रहरी प्रतिवेदन, अभिमुखीकरण, करार र श्रम स्वीकृतिका सम्बन्धमा विभागले केही दिनभित्र सूचना सार्वजनिक गर्ने भएको छ ।

मेडिकललगायतका अन्य प्रक्रियामा समस्या आउने अनुमानसहित निर्धारण गरिएकोभन्दा थप १७५ को नाम अन्तिम चरणमा राखिएको छ । यसमा महिलाको ८२१ र पुरुष ३५४ रहेका छन् ।

इजरायलले पठाएको नामावलीका आधारमा क्रमशः एक हजार १७५ जनालाई नै अभिमुखीकरण तालिम समयमा नै सम्पन्न गर्ने गरी तयारी गरिएको छ । विभागले इजरायलबाट छनोट भएर आएका सबैलाई भिसा प्रक्रियाका लागि इजरायली दूतावासमा पठाउने गरी काम भइरहेको जनाएको छ ।

इजरायल जाने श्रमिकले मासिक झन्डै दुई लाख रुपियाँ पारिश्रमिक पाउने जनाइएको छ । विभागका अनुसार एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि एक वर्षको हुने भए पनि करार थपिएर पाँच वर्षसम्म बस्न पाइनेछ ।

इजरायल जाने श्रमिकले हवाई भाडा, स्वास्थ्य बीमा, अभिमुखीकरण, पासपोर्ट, पीसीआरसहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा एक लाख ६५ हजार ७०० रुपियाँ शुल्क लाग्ने विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस