जनगणना कार्यक्रममा सही विवरण टिपाएर सहयोग गर्न मुख्यमन्त्री राउतको आह्वान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जनगणना कार्यक्रममा सही विवरण टिपाएर सहयोग गर्न मुख्यमन्त्री राउतको आह्वान


२५ कार्तिक २०७८, बिहिबार


वीरगन्ज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले १२ औँ राष्ट्रिय जनगणना कार्यक्रममा सही विवरण टिपाएर सहयोग गर्नुहुन सबै प्रदेशवासीमा अनुरोध गरेका छन् ।

मुख्यमन्त्री राउतले आज जारी गरेको सन्देशमा जनगणना लिन आउने सुपरिवेक्षक वा गणकलाई सही विवरण टिपाउँ । आउने गणकलाई आत्मीय व्यवहार गरौँ । उहाँहरुले सोधेका सबै प्रश्न धैर्यतापूर्वक सुनेर सही जवाफ दिन सबै प्रदेशवासी दाजुभाइ दिदीबहिनीलाई हार्दिक अनुरोध गर्दछु उल्लेख छ ।

केन्द्रीय तथ्याङ्क विभागले यस जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ राखेको छ । यो नारालाई सार्थक बनाउन सम्पूर्ण’ प्रदेशवासी दाजुभाइ दिदीबहिनीले जनगणनालाई अपनत्व लिएर गणकलाई सही विवरण टिपाएर सहयोग गर्नु हुन प्रदेश सरकार पुनः सम्पूर्ण प्रदेशवासीलाई हार्दिक अनुरोध गर्दछ, उनले सन्देशमा उल्लेख गरेका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘जनगणना तथ्याङ्क सङ्कलनको पहिलो चरणअन्तर्गत भदौदेखि असोज १८ सम्म तपाई हाम्रो घरदैलोमा आई घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न गरेको हामी सबैलाई जानकारी नै छ ।

यसै गरी कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गणक पारिवारिक र व्यक्तिगत विवरण लिन घर–घरमा आउँदै हुनुहुन्छ । जनगणनामा गणकले सोधेका प्रश्नको सही उत्तर दिऊँ ।”

उनले सन्देशमा तपाईँले टिपाएका तथ्याङ्क गोप्य रहन्छन् । यस्ता विवरण गोप्य नराख्ने वा गोपनीयता भङ्ग गर्ने जोकोहीलाई कानुन बमोजिम कारबाही हुन्छ । त्यसैले आफूले टिपाएको विवरणको गोपनीयता नरहने हो कि भनेर कसैले द्विविधा लिनुपर्दैन भनेका छन् ।

राज्यको पुनः संरचनापछि अर्थात् देशले सङ्घीय शासन प्रणाली अङ्गाले पछिको यो पहिलो जनगणना हो । त्यस कारण पनि यस पटकको जनगणनाको खास महत्त्व छ । अझ प्रदेश भनेको सङ्घीयताले जन्माएको नयाँ प्रणाली हो । प्रदेशमा आधारित भएर हालसम्म यति ठुलो कुनै पनि अध्ययन अनुसन्धान भएको छैन ।

विसं २०७२ मा संविधान जारी भएसँगै प्रदेशको स्थापना भए पनि हाम्रो आफ्नै तथ्याङ्क थिएन । २०६८ सालमा राज्यको पुरानो संरचना अन्तर्गत गरिएको जनगणनाका तथ्याङ्कलाई नै हामीले उपयोग गरेर यहाँसम्म आइपुगेका छौँ । तर यसपालि जनगणनाले नेपालमा पहिलो पटक प्रादेशिक मोडलमा आधारित जनसङ्ख्या तथ्याङ्क उपलब्ध गराउनेछ जुनखुशीको कुरा हो, उनले सन्देशमा उल्लेख गरेका छन् ।

हाम्रो प्रदेशको जनसङ्ख्या कति छ ? कुन कुन जात जातिका मानिसको बसोबास छ ? कुन धर्म र संस्कृतिका मानिस कति छन् ? कुन भाषा बोल्ने मानिसको बाहुल्यता छ ? सामाजिक बहिष्करणमा परेका समूह दलित, जनजाति, अल्पसङ्ख्यक, लोपोन्मुख, महिला, अपाङ्गता भएका व्यक्ति आदिको जनसङ्ख्याको अवस्था के छ भन्ने कुरा जनगणनाले छर्लङ्ग पार्दछ । जनगणनाबाट आउने यही तथ्याङ्कलाई आधार बनाएर सम्बन्धित जाति, धार्मिक समुदाय, महिला वा अपाङ्गता भएका व्यक्तिका लागि प्रदेश सरकारले नीति र कार्यक्रम बनाउँदछ, सन्देशमा उनले भनेका छन् ।

मुख्यमन्त्री राउतले आफूले टिपाएको सही तथ्याङ्कले आफ्नै लागि प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुनेछ भन्ने कुरा सबैले बुझ्नुपर्दछ भने । यस पटकको जनगणनामा रोजगार, बेरोजगार, बैङ्क तथा वित्तीय संस्थामा पहुँचको अवस्था, सरकारी अनुदान प्राप्त गरेको नगरेको, वडा तहसम्म सामुदायिक भवनको अवस्था के कस्तो छ जस्ता मसिना तर नागरिकका लागि अति महत्त्वपूर्ण विषयका प्रश्नावली पनि समेटिएको छ । जारी सन्देशमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस