अमेरिका र चीनबिच जलवायु परिवर्तनविरुद्ध थप सहकार्य गर्न सहमति « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अमेरिका र चीनबिच जलवायु परिवर्तनविरुद्ध थप सहकार्य गर्न सहमति


२५ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । जलवायु परिवर्तनविरुद्ध थप सहकार्य गर्न चीन र अमेरिबिच सहमत भएको छ ।

बुधवार चीन र अमेरिकाले एक सहमति सार्वजनिक गर्दै जलवायु परिवर्तनविरुद्ध सहकार्य बढाउने घोषणा गरेका हुन् ।

ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा संयुक्त विज्ञप्ति जारी गर्दै चीन र अमेरिकाले यससम्बन्धमा सहकार्य बढाउने घोषणा गरेको अलजजिराले जनाएको छ ।

मिथेन उत्सर्जन कम गर्ने, वन संरक्षण गर्ने र कोइला प्रयोग नगर्ने विषयमा दुवै मुलुक सहमत भएको बताइएको छ । जलवायु परिवर्तनसँग जुध्न चालिएका कदम ‘ठोस कार्यसँगै’ दोब्बर पार्ने विषयमा समेत चीन र अमेरिबिच सहमत भएको हो । आफूहरूले गरेको सहमतिले पेरिस सम्झौतासम्बन्धी निर्देशिका (२०१५) र २०२५ का लागि तय गरिएका उत्सर्जन कटौतीका नयाँ लक्ष्यसहित ‘२०२० को दशकमा जलवायुसम्बन्धी गतिविधि बढाउन’ अपिल गरेको पनि दुवै मुलुकले जनाएको छ ।

त्यस्तै, दुवै मुलुकबिच भएको सहमतिमा कार्बन न्यूनीकरण (डिकार्बनाइजेशन), मिथेन उत्सर्जन कटौती र वन फडानीविरुद्धको अभियानलाई ठोस तथा व्यावहारिक तरिकाले नियमन गर्न अपिल गरिएको छ ।

‘दुवै पक्षले विद्यमान प्रयास र पेरिस सम्झौताका लक्ष्यबिच अन्तर रहेको कुरालाई आत्मसात् गरेका छौँ’, जलवायु परिवर्तनका लागि चिनियाँ दूत सी झेङहुवाले बुधवार सहमति सार्वजनिक गर्दै भने, ‘यही भएर हामीले मिलेर जलवायुसम्बन्धी कदम चाल्ने छौँ ।’

जलवायु परिवर्तनका लागि अमेरिकी प्रतिनिधि जोन केरीले चीनसँगको सहमतिले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन सफल हुने बताएका छन् ।

केरीले भने, ‘हामीले कोप–२६ को सफलताका लागि आफ्नो समर्थन व्यक्त गरेका छौँ । यति बेला हरेक कदमले अर्थ राख्छ र हाम्रासामु लामो यात्रा छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस