न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्छ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्छ


२४ कार्तिक २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संसद् र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताएका छन् ।

गणेशमान सिंह फाउन्डेसनले काँग्रेसका संस्थापक नेता एवम् लौहपुरुष गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा आज शोभाभगवतीमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा उनले संसद् र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताएका छन् ।

‘सरकार जनताको अभिभावक हो, जनतासँग प्रत्यक्ष जोडिएको समस्या समाधानका लागि सरकारले पहल थाल्नुपर्छ’, नेता सिंहले भने । उनले काग्रेसले आगामी निर्वाचनमा कुनै दलसँग चुनावी गठबन्धन गर्न नहुने उल्लेख गरे । नेता सिंहले दुई/दुईपटक विघटन भएको संसद् अदालतले पुनस्र्थापना गरिदिएको भन्दै ‘अर्ली इलेक्सन’को सम्भावना नरहेको स्पष्ट पारे ।

पाँच दलीय गठबन्धन समन्वय समिति आवश्यक नभएको बताउँदै उनले गठबन्धन सरकारको मुख्य काम संविधानलाई सही दिशामा ल्याएर तीनै तहको निर्वाचन समयमा सम्पन्न गर्नु रहेको बताए । काँग्रेसले १४औँ महाधिवेशनबाट पार्टीलाई विधिसम्मत नेतृत्व गर्ने सक्षम उम्मेदवार छनोट गर्नुपर्ने उनको भनाइ थियो ।

नेता सिंहले नेपाली जनतालाई सार्वभौम बनाउनका लागि स्व सिंहले नेपाली राजनीतिमा ६ दशक लामो खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै देशमा प्रजातन्त्र स्थापनाका लागि स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

उनले काँग्रेसको नेतृत्वमा बनेको संविधानलाई रक्षा गर्दै सङ्घीयता, लोकतन्त्र र समावेशितालाई संस्थागत गर्दै अगाडि बढाउने मुख्य जिम्मा काँग्रेसको भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस