कात्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कात्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना


२४ कार्तिक २०७८, बुधबार


काठमाडौँ । कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणना २०७८ को सबै तयारी पूरा भएको छ ।

भोलि (बिहीबार)बाट सुरु हुने राष्ट्रिय जनगणना २०७८ को सुरुवात सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट जनगणना सुरु गरिने भएको छ ।

यसैगरी, प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी जनगणनाको प्रारम्भ गरिने छ ।जनगणनाका लागि आठ हजार पाँच सय सुपरिवेक्षक र ३९ हजार जना गणक तयारी अवस्थामा रहेका छन् ।

गत भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको र सोको आधारमा जनगणना गरिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले जनगणना २०७८ को सबै तयारी पूरा भएको जानकारी दिए । उनले भने, ‘अब गणकले घरघरमा पुगेर जनगणना कार्य प्रारम्भ मात्र गर्न बाँकी रहेको र अन्य सबै कार्य पूरा भएको छ ।’

बिहीबार बिहानैदेखि सबै गणकले घरघरमा पुगेर जनगणनाको कार्य सुरु गर्न मात्र बाँकी रहेको रेग्मीले बताए ।

यस वर्षको जनगणनाका लागि सूचीकरण फाराम, मूल प्रश्नावली र सामुदायिक प्रश्नावली गरी तीन प्रकारका प्रश्नावली तयार गरिएको छ ।

उक्त प्रश्नावलीले समग्र कृषि क्षेत्रको विवरण, बैङ्कमा किसानको पहुँच, व्यक्तिगत विवरण, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग, सामाजिक आर्थिक विषय, जन्म, मृत्यु, बसाइसराइलगायतका विवरण आउनेछ ।

घरघरमा पुगेर गणकले सोधेका प्रश्नबाट व्यक्तिगत विवरण आउने र सो व्यक्तिगत विवरणलाई आधार मानेर सुपरिवेक्षकले स्थानीय तहका वडाध्यक्षसँग क्रस चेकिङ गर्नका लागि वडा तहमा सामुदायिक प्रश्न सोधिन लागेको रेग्मीले बताए ।

यस वर्षको जनगणनाका लागि सरकारले ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा तय गरेको छ । सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गरी हुन लागेको जनगणनाका लागि केन्द्रदेखि वडा स्तरसम्मका संरचना तयार गरिएको छ ।

यस वर्षको जनगणनाबाट वडाभित्रको जातजाति, धर्म, सेवा प्रवाह, राज्यले प्रदान गर्ने सुविधामा नागरिकको पहुँचलगायतका स्पष्ट रूपमा तथ्याङ्क आउने गरी प्रश्नावली तयार गरिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए।

उनका अनुसार जनगणनाबाट सामाजिक, आर्थिक पूर्वाधार सेवा, सुविधा, विपत् जोखिमको अवस्था, एक वर्षभित्रमा भएका प्राकृतिक वा विपत्को क्षतिको विवरण, वन्यजन्तु र जङ्गली जनावरबाट भएको क्षति, स्थानीय स्तरमा भएका जातजाति वा सीमान्तकृत नागरिकको बसोबास अवस्थाको तथ्याङ्क आउने छ ।

जनगणनाका क्रममा एक जना गणकले करिब १५० घरसम्म पुग्नुपर्ने गरी कार्यतालिका निर्माण गरिएको छ । लामिछानेले जनगणनाका लागि घरघरमा पुग्ने गणकलाई सत्य तथ्य विवरण प्रदान गरेर सहयोग गर्न सबैमा आग्रह गरे।

नेपालमा हरेक १०/१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ । मुलुकमा पहिलो जनगणना वि.सं. १९६८ मा भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस