छठ पर्वका लागि करोडौँको फलफूल आयात « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

छठ पर्वका लागि करोडौँको फलफूल आयात


२३ कार्तिक २०७८, मंगलबार


जनकपुर । छठमा पूजा सामग्रीसँगै फलफूलको पनि प्रयोग बढी हुन्छ । जनकपुरमा मात्र यस वर्ष छठका लागि १९ करोड रुपैयाँभन्दा बढीको फलफूल भित्रिएको व्यवसायीले बताएका छन् ।

छठमा केराको अत्यधिक प्रयोग हुन्छ । केरा, नरिवल लगायत एक दर्जन प्रकारका फलफूलको आपूर्ति भने पूर्वी नेपालको भन्टाबारी, त्रिवेणी, इनरुवा र भारदहसँगै भारतको असाम, पटना, मोकामा, हान्जिपुर, पश्चिम बंगाल, ठाकुरगन्ज तथा बिरपुरलगायतका सहरबाट गरिन्छ ।

फलफूल व्यवसायी सङ्घ जनकपुरका अध्यक्ष विशेश्वर यादवका अनुसार छठका लागि भारतबाट हालसम्म ३५ ट्रकभन्दा बढी तथा पूर्वी नेपालका विभिन्न स्थानबाट १५ ट्रक गरी कुल ५० ट्रक केरा जनकपुर आयात गरिसकिएको छ ।

एक ट्रकमा सरदर २२ टन केरा हुन्छ । एक ट्रकको मूल्य २ लाख ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म हुन्छ । यसरी जनकपुरमा मात्र साढे १२ करोड मूल्यको १ हजार १ सय टन केरा आयात गरिएको छ ।

करिब ३ करोड मूल्य बराबरको स्याउ, २ करोड मूल्य बराबरको अनार तथा १ करोड मूल्य बराबरको सुन्तला, मौसमी र नरिवल आयात गरिएको छ ।

‘फलफूलको बिक्री राम्रै छ । अपुग भए उता (भारत) का व्यवसायीलाई स्टेन्डबाई राखेका छौँ,’ अध्यक्ष यादवले भने । भारतीय फलफूल नेपालीभन्दा महँगो भए पनि बिक्रेतालाई भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । नेपाली उत्पादनले बजारको माग थेग्न नसकेको उनीहरूको भनाइ छ । ‘भारतका केरा बगानमा १ लाखमा एक ट्रक केरा किन्छौँ तर ट्रक भाडा, भारतीय र नेपालको भन्सार शुल्क जोड्दा यहाँ २ लाख ५० हजार खर्च भइसक्छ,’ यादवले भने ।

गत वर्षको तुलनामा केराको मूल्य लगभग दोब्बरले बढेको छ । कृषि बजार परिसरमा छठ पर्वलाई लक्षित गरी पटके केरा पसल सञ्चालन गरेका राजाबाबु साहका अनुसार गत वर्ष ३ सयदेखि ४ सयमा बिक्री भएको एक घारी केराको मूल्य यस वर्ष ५ सय छ ।

फलफूल व्यवसायी गुडु महतोले नेपाली केरा गुणस्तरीय भए पनि मागअनुसारको पूर्ति गर्न नसकेको कारण भारतबाट आयात गर्नुपरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस