भरतपुर सबस्टेसनको मर्मत सकियो, दुईवटै ट्रान्सफर्मर सञ्चालनमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भरतपुर सबस्टेसनको मर्मत सकियो, दुईवटै ट्रान्सफर्मर सञ्चालनमा


२२ कार्तिक २०७८, सोमबार


काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकास्थित बसेनीमा रहेको १३२/११ केभी भरतपुर सबस्टेसनमा रहेका दुईवटै पावर ट्रान्सफर्मरहरु सञ्चालनमा आएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मरहरु पूर्ण रुपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगहरुलाई पनि हिजो (आइतबार) साँझबाट विद्युत् आपूर्ति दिएको छ ।

सबस्टेसनमा रहेका दुई ट्रान्सफर्महरुमध्ये एउटामा १३ र अर्कोमा १६ कात्तिकमा समस्या आएको थियो ।

प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मरलाई हटाएर सबस्टेसनमा जगेडामा रहेको २२.५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी बिहीबारबाट घरायसी ग्राहकका लागि विद्युत् आपूर्ति दिएको थियो । एउटा ट्रान्सफर्मर जडान गरी ३६ घण्टापछि विद्युत् आपूर्ति सुरु गरिएको थियो ।

कास्कीको लेखनाथ सबस्टेसनमा रहेको २२.५ एमभीए क्षमताको ट्रान्सफर्मर ल्याई भरतपुर सबस्टेसनमा जडान गरी त्यसलाई पनि आइतबार साँझबाट सञ्चालनमा ल्याइएको हो ।

सबस्टेसनको क्षमता अब ४५ एमभीए रहेकोले औद्योगिकसहितका सबै ग्राहकलाई विद्युत् आपूर्तिको कुनै समस्या नरहेको प्राधिकरणको वितरण तथा ग्राहक सेवा केन्द्र भरतपुरका प्रमुख राजीव कुमार सिंहले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस