जो हमसे टकराएगा, चुरचुर होजाएगा : अध्यक्ष नेपाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जो हमसे टकराएगा, चुरचुर होजाएगा : अध्यक्ष नेपाल


१८ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफूहरुसँग टक्कर लिन खोज्नेहरू समाप्त हुने चेतावनी दिएका छन् ।

आफूहरुसँग टक्कर लिन खोज्दा कर्णाली प्रदेशमा नेकपा एमाले उठ्नै नसक्ने हालतमा पुगेको पनि उनले बताए ।

आज (बिहीबार) बिहान भक्तपुरमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले हिन्दी लवजमा भने, ‘जो हमसे टकराएगा, चुरचुर होजाएगा ।’

विभिन्न प्रदेश सरकारमा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनेको चर्चा गर्दै नेपालले कर्णाली प्रदेशमा नेकपा एमालेको हालत उठ्नै नसक्ने अवस्थामा पुगेको टिप्पणी गरे ।

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी सबैभन्दा ठुलो पार्टी बनेको र प्रदेश नम्बर दुईमा एमालेभन्दा धेरै अगाडि रहेको बताउँदै उनले भने, ‘कर्णाली प्रदेशमा हामीले टक्कर दिएर अर्को पार्टी उठ्नै नसक्ने गरी एमालेको हालत खतम छ ।’

एक नम्बर प्रदेश र बागमती प्रदेशमा एकीकृत समाजवादी पार्टीको मुख्यमन्त्री बनेको बताउँदै उनले भने, ‘त्यसो हुनाले हामी भन्छौँ हामीसँग टक्कर लिने कुरा सोच्यो भने तराईतिर भनिन्छ- जो हमसे टकराएगा चुरचुर होजाएगा, ख्याल गर ।’

उनले भ्रष्टाचार मुक्त भएको, सुशासनको मान्यतामा अगाडि बढेको, जनसेवाको मन्त्र बोकेको र समाजलाई परिवर्तनको दिशामा डोर्याउने सोचका साथ अगाडि बढ्न नेताहरुलाई निर्देशन दिए ।

आफूहरुले त्यही अनुसार मन्त्रीहरुलाई अगाडि बढाएका बताउँदै उनले भने, ‘राम्रो गर्नुहुन्छ भने बस्न सक्नुहुन्छ, राम्रो गर्नु भएन भने तपाईंहरुलाई कारबाही हुने छ, हटाइने छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस