प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाऔँ : डा. भट्टराई « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाऔँ : डा. भट्टराई


१८ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिए महाभियोग लगाउनुपर्ने आशय व्यक्त गरेका छन् ।

न्यायालयको विवादमा यसअघि केही नबोलेका पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले पहिलो पटक मुख खोलेका हुन् ।

दलहरू मौन रहेको भन्दै आन्दोलित कानुन व्यवसायीले आक्रोश पोखिरहेका बेला उनले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो धारणा राखेका हुन् । ​

न्यायालयको गल्ती ढाकछोप गर्न नहुनेमा जोड दिँदै डा. भट्टराईले अदालतले गल्ती सच्याउन नसके संसद् अघि सर्नुपर्ने बताएका छन्। उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए महाभियोग लगाउन संसद् अग्रसर हुनुपर्ने जनाएका छन् ।

‘शास्त्रले ‘सत्यं ब्रुयात प्रियं ब्रुयात न ब्रुयात सत्यमप्रियं’ भनेपनि तैं चूप मैं चूप समस्याको समाधान हैन,’ डा. भट्टराईले भनेका छन्, ‘राज्य र समाजका अरू अंगले गल्ती गर्दा सच्याउने न्यायपालिकाले स्वयं वा कार्यपालिकासँगको मिलिमतोमा गल्ती गर्दा कसले सच्याउने ? कि आफैंले नत्र व्यवस्थापिकाले हैन र ? गल्ती ढाकछोप नगरौं ।’

यसअघि जसपाकै सांसद मोहम्मद इस्तियाक राईले पनि प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन संसद्को विशेष अधिवेशन बोलाउन माग गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस