सर्वोच्चका न्यायाधीशहरुको इजलास बसेन « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

सर्वोच्चका न्यायाधीशहरुको इजलास बसेन


१६ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरूले सोमबार बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ गरेको भए पनि मंगलबार भने इजलासमा बसेका छैनन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्यायालयको नेतृत्व गर्न असक्षम भएको र न्यायिक सुधारमा बाधक बनेको भन्दै राजीनामाको माग गरेका न्यायाधीशहरू मंगलबार इजलासमा नगएका हुन्।

प्रधानन्यायाधीश जबराले १० न्यायाधीशको ६ वटा इजलास तोकेका थिए। उनले आफूलाई कुनै इजलास तोकेका थिएनन् भने ६ वटा इजलासमा पनि बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्रै तोकेका थिए। सर्वोच्च अदालतको इजलाससम्बन्धी विवरण रहने वेबपेजमा इजलासहरू नबसेको जानकारी गराएको छ ।

प्रधानन्यायाधीश जबराले सम्मानजनक बहिर्गमनका लागि आफू तयार रहेको प्रस्ताव पठाएपछि त्यसका लागि विश्वासको वातावरण बनाउन भन्दै न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरालाई उनको इजलास नतोक्न तथा बाँकीलाई बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र तोक्न भनेका थिए।

प्रधानन्यायाधीश जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव पठाए पनि शुरूमा त्यसबारे विस्तृतमा खुलाएका थिएनन्। सोमबार साँझ न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मासँगको छलफलमा जबराले बहिर्गमनको मार्गचित्र बताएका थिए। त्यसबारे तीन न्यायाधीशले मंगलबार बिहान ११ बजे बाँकी न्यायाधीशहरूलाई बताउने र उक्त छलफलबाट सामूहिक निर्णय गर्ने भनिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस