कर्णाली प्रदेशका तीन जना मन्त्री आज पदमुक्त हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णाली प्रदेशका तीन जना मन्त्री आज पदमुक्त हुँदै


१५ कार्तिक २०७८, सोमबार


काठमाडौँ । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज (सोमबार) पदमुक्त हुने भएका छन् ।

प्रदेशसभा सदस्य नरहेका नेकपा एकीकृत समाजवादीका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको पद आज सकिन लागेको हो ।

सांसद पदमा निर्वाचित नरहेको व्यक्ति ६ महिना भन्दा बढी मन्त्री बन्न नपाउने कानुनी व्यवस्था अनुसार कर्णाली प्रदेशमा आज तीन जना मन्त्री पदमुक्त हुन लागेका हुन् ।

पार्टीको निर्णय विपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी विश्वासको मत दिएपछि तत्कालीन पाटी एमालेले कारबाही गरी तीन जनालाई गत वैशाख ४ गते सांसदबाट हटाएको थियो ।

वैशाख २ गते फ्लोर क्रस गरेका उनीहरुलाई मुख्यमन्त्री शाहीले मन्त्रीमा नियुक्त गरेका थिए । कर्णालीमा मुख्यमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् छ ।

तीन मन्त्री स्वतः पदमुक्त भएपछि केही दिनभित्रमै मन्त्रिपरिषद् पुनर्गठन हुने नेताहरूले बताएका छन् । आफ्नो पार्टीका तीन मन्त्री पदमुक्त भएसँगै सो ठाउँमा आफ्नै पार्टीका तीन जनालाई पठाउने एकीकृत समाजवादी कर्णाली प्रदेशले निर्णय गरेको छ ।

हिजो बसेको प्रदेश कमिटीको बैठकले सो निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस