राष्ट्रपति भण्डारी आज मनाङ जाने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति भण्डारी आज मनाङ जाने


१५ कार्तिक २०७८, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज (सोमबार) मनाङ जाने भएकी छन् । अवलोकन भ्रमणका लागि उनी मनाङ जान लागेकी हुन् ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ पुग्ने जानकारी दिए ।

‘मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्नेछिन् । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत उनले अवलोकन गर्ने प्रजिअ आचार्यले जानकारी दिए ।

जलवायु परिवर्तनका कारण यस हिमाली जिल्लामा देखा परेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिने बताइएको छ ।

यस जिल्लाका हिमाली क्षेत्रमा समेत गत असारको बाढीपहिराले प्रभाव पारेको छ । यसको न्यूनीकरण गर्न तथा बाढीले ध्वस्त बनाएका यातायात विद्युत्लगायतका स्थानीय संंरचनाहरूको पुनः निर्माणका लागि स्थानीय सरकारका जनप्रतिनिधिले प्रयास गरिरहेका छन् ।

बाढीका कारण केही समय यातायातबाट विच्छेद भएको मनाङलाई अहिले आधारभूत मार्गले भने जोडिएको छ । त्यस्तै ध्वस्त भएका संरचनाको पुनः निर्माण गरी मनाङमा विद्युत् सेवा पनि पुनः सञ्चालनमा ल्याइएको छ ।

आज राष्ट्रपति भण्डारीले अवलोकन गर्नुहुने स्याउ फार्म नेपालकै सबैभन्दा ठुलो फार्म हो । यो फार्म मनाङको ङिस्याङ गाउँपालिका वडा नं १ भ्राताङमा पर्छ । मनाङको चामेबाट यो फार्म करिब तीन किलोमिटर टाढा पर्दछ । यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ ।

गत आर्थिक वर्षमा उक्त फार्मबाट ४५० टन स्याउ उत्पादन भएको थियो । उक्त फार्म ७३५ रोपनी क्षेत्रफलमा छ र सो फार्मभरि स्याउ लगाइएको छ । मनाङको स्याउ स्वादिलो हुने भएकाले स्थानीय र बाह्य बजारमा पनि निकै लोकप्रिय रहिआएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस