काँग्रेस सभापतिलाई रेणु दाहालको जवाफ : आफ्नो पालामा सिन्को नभाँच्नेहरू हामीलाई लखेट्ने कुरा गर्दै छन् « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस सभापतिलाई रेणु दाहालको जवाफ : आफ्नो पालामा सिन्को नभाँच्नेहरू हामीलाई लखेट्ने कुरा गर्दै छन्


१२ कार्तिक २०७८, शुक्रबार


चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले चितवनको भरतपुरको विकास देखेर अत्तालिएकाहरुले आफूहरुलाई लखेट्ने कुरा गरेको बताएकी छन् ।

नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले चार वर्षको अवधिमा कसैले नगरेको र गर्न नसकेका काम हुँदा केही व्यक्ति आत्तिएकाले अनावश्यक अभिव्यक्ति दिन थालेको बताइन् ।

‘जनताको अमूल्य मतबाट निर्वाचित भएर आएपछि सिन्को नभाँच्ने हिजोको परिपाटी थियो,’ पार्टी अध्यक्ष प्रचण्डसमेतको उपस्थिति रहेको कार्यक्रममा उनले भनिन्, ‘विकासका नाममा केही नगर्ने, चुनावदेखि चुनावसम्मको स्थिति मात्र थियो । अहिले महानगरपालिकाभरि विकासको लहर आएको छ । यो सबै महानगरवासीले देखेको कुरा हो । जनताको मन जितेर स्वार्थ नराखेर रातदिन काम गर्दा लखेट्ने कुराहरु आएका छन् ।’

नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले केही दिनअघि प्रचण्ड र रेणुलाई चितवनबाट लखेट्ने अभिव्यक्ति दिएका थिए । श्रेष्ठको सोही अभिव्यक्तिलाई लक्षित गरी रेणुले काउन्टर दिएकी हुन् ।

उनले नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन अन्तै हुने तय भए पनि भरतपुरमै ल्याएर गर्नुपर्ने स्थिति बनाइएको बताइन् । ‘सबै तिरबाट घेराबन्दी र काम गर्ने मान्छेलाई लखेट्ने परिपाटी अहिले पनि हामीले देखेका छौँ । म भन्न चाहन्छु । हामी हिजो पनि जनताका अधिकारका लागि मर्न तयार भएर हिँडेका हौँ, अहिले पनि जनताकै लागि लडिरहेका छौँ । जति हामीलाई लखेट्ने कुरा गर्छन् त्यति नै धेरै जनताको सेवक भएर काम गर्ने प्रेरणा मिलेको छ,’ उनले भनिन् ।

महानगर प्रमुख दाहाल तत्कालीन काँग्रेस९माओवादी गठबन्धनबाट निर्वाचित भएकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस