काँग्रेस महाधिवेशन मङ्सिरको अन्त्यमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेस महाधिवेशन मङ्सिरको अन्त्यमा


११ कार्तिक २०७८, बिहिबार


काठमाडौँ। पटक पटक सर्दै आएको नेपाली काँग्रेसको १४औँ केन्द्रीय महाधिवेशन आउँदो मङ्सिरको अन्तिम साता गरिने भएको छ  ।

पूर्व निर्धारित मङ्सिर ९ देखि १३ गतेसम्मको कार्यतालिकालाई संशोधन गर्दै पार्टीको केन्द्रीय निर्वाचन समितिले आउँदो मङ्सिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको हो ।

निर्वाचन समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता महादेव यादवले मङ्सिरभित्रै महाधिवेशन सक्ने गरी कार्यतालिका तयार पारेको जानकारी दिए ।

कात्तिक दोस्रो साता गर्ने गरी तय गरिएको प्रदेश अधिवेशन अब आगामी मङ्सिर १६ र १७ गते हुने भएको छ । यसका साथै पार्टीले प्रदेश अधिवेशनअघि नै सबै जिल्लामा जिल्ला अधिवेशन गरिने जनाएको छ ।

धेरैजसो जिल्लामा मङ्सिर १० गतेसम्म जिल्ला अधिवेशन सम्पन्न हुने अवस्था रहेको जानकारी समितिका संयोजक यादवले दिए ।

जिल्लाको अवस्था फरक फरक भएकाले मङ्सिर १० गतेसम्म सबै जिल्लाको जिल्ला अधिवेशन पूरा गर्ने र केन्द्रीय निर्वाचन प्रतिनिधिलाई पनि सोहीअनुसार निर्देशन दिइएको जनाइएको छ । पार्टीले हालसम्म १३ जिल्लाको जिल्ला अधिवेशन पूरा गरिसकेको छ ।

बाँकी जिल्लामा कतै वडा, पालिका, प्रदेशसम्मको अधिवेशन गरिएको र सबै जिल्लाको अवस्था फरक फरक रहेको जनाइएको छ ।

काँग्रेसले कात्तिक २७ गतेदेखि वडा अधिवेशनको प्रक्रिया पुनः सुरु गरिने जनाएको छ । हालसम्म १३ जिल्लामा वडा अधिवेशनको प्रक्रियासमेत सुरु हुन सकेको छैन । ती जिल्लामा पनि २७ गतेदेखि वडा अधिवेशन सक्ने गरी निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइएको छ ।

हिमाली जिल्लामा निर्वाचन अधिकृतलाई खटाइसकिएको निर्वाचन समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस