सर्वोच्चमा कानून व्यवसायीले रोके बहस, न्यायाधीशहरू छलफलमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सर्वोच्चमा कानून व्यवसायीले रोके बहस, न्यायाधीशहरू छलफलमा


१० कार्तिक २०७८, बुधबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिनुपर्ने पक्षमा रहेका कानून व्यवसायीहरुले आज (बुधबार) देखि सर्वोच्च अदालतमा बहस नगर्ने भएका छन् ।

कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एसोसिएसनले बुधबारबाट सर्वोच्चमा बहस नगर्ने निर्णय गरेको हो ।

एसोसिएसनका केन्द्रीय सदस्य खिमानन्द अधिकारीले बुधबारदेखि आफूहरुले सर्वोच्च अदालतमा बहस नगर्ने बताए ।

‘हामीले सर्वोच्च अदालतमा आजबाट बहस गर्दैनौं,’ अधिकारीले भने, ‘उहाँ (प्रधानन्यायाधीश जबरा)ले एक-दुईमा राजीनामा नदिए देशभर चरणबद्ध आन्दोलन गर्छौँ ।’

त्यसो त प्रधानन्यायाधीश जबराविरुद्ध उभिएका सर्वोच्चका न्यायाधीशहरूले लगातार दुई दिन मुद्दा नहेरेपछि न्यायनिरुपणको काम नै रोकिएको छ । आज बिहान ११ बजे उनीहरू छलफलमा जुट्दै छन् ।

सरकारमा भाग खोजेको, सहकर्मी न्यायाधीश समेतको विश्वास जित्न नसकेको, न्यायालयको गरिमामा आँच आउने काम गरेको लगायतका आरोप लागेपछि प्रधानन्यायाधीश जबरा एक्लिएका छन् ।

यसअघि सर्वोच्चका सहकर्मी न्यायाधीशहरूले नै उनलाई राजीनामा दिन सुझाउँदै उनले तोकिदिएको इजलासमा नबस्ने निर्णय गरेका थिए । यसै गरी नेपाल बार एसोसिएसन, सर्वोच्च बार एसोसिएसन र पूर्व न्यायाधीशहरुले पनि उनको राजीनामा माग गरेका छन् ।

राजीनामा दिनुपर्ने दबाबमा परे पनि प्रधानन्यायाधीश जबराले भने कसैले राजीनामा माग्दैमा नदिने बताएका छन् । आफूले राजीनामा दिनुपर्ने भए विवादमा परेका अन्य न्यायाधीशहरूले पनि राजीनामा दिनुपर्ने उनको धारणा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस