सुडानमा सैनिक ‘कु’ विरुद्ध प्रदर्शनमा उत्रिएका सात प्रदर्शनकारीको मृत्यु, १४० जना घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुडानमा सैनिक ‘कु’ विरुद्ध प्रदर्शनमा उत्रिएका सात प्रदर्शनकारीको मृत्यु, १४० जना घाइते


९ कार्तिक २०७८, मंगलबार


काठमाडौँ। सुडानमा सैनिक ‘कु’ विरुद्ध प्रदर्शनमा उत्रिएका नागरिकमाथि सेनाले गोली चलाउँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । १४० जना घाइते भएका छन् ।

सशस्त्र बलले नागरिक शासन अपदस्त गरी राजनीतिक नेताहरूलाई पक्राउ गरेर सङ्कटकाल घोषणा गरेपछि प्रदर्शनकारीहरू सडकमा आएका थिए । प्रदर्शनकारीहरूले सेना विरोधी नारा लगाएका छन् ।

केन्द्रीय बैङ्कका कर्मचारीहरू पनि विरोध प्रदर्शनमा सहभागी भएको बताइएको छ । डाक्टरहरूले आकस्मिक बाहेकका सेवा उपलब्ध गराउन अस्वीकार गरेका छन् ।

सैनिक फौजहरू स्थानीय आन्दोलन आयोजकहरूलाई पक्राउ गर्न राजधानी खार्तुमको घरघरै गइरहेको बताइएको छ । ‘कु’ को विश्वभरिबाट निन्दा गरिएको छ । अमेरिकाले ७०० मिलियन डलर सहयोग रोकेको छ ।

अमेरिका, युके, ईयू, युएन र अफ्रिकन युनियनले राजनीतिक नेताहरूको रिहाइको माग गरेका छन् ।

‘कु’का नेता जेनेरल अब्देल फताह बुहरानले सैनिक कारबाहीको लागि आन्तरिक राजनीति कलहलाई दोष दिएका छन् । सेना र सरकारबीच लामो समयदेखि टकराब थियो ।

सेनाले हिजो (सोमबार) प्रधानमन्त्रीसहित थुप्रै नेतालाई गिरफ्तार गरेको थियो । ‘कु’ पछि अधिकांश इन्टरनेट र टेलिफोन सेवा काटिएको छ । विमानस्थल बन्द गरिएको छ र अन्तर्राष्ट्रिय उडान निलम्बन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस