वीरगन्ज भन्सार कार्यालयमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वीरगन्ज भन्सार कार्यालयमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन


७ कार्तिक २०७८, आइतबार


वीरगन्ज । लगातार ६ वर्षदेखि सरकारले दिएको राजस्वको लक्ष्य पूरा गर्न असफल हुँदै आएको वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षमा भने हरेक महिनामा लक्ष्यभन्दा बढी नै राजस्व सङ्कलन गर्न सफल भएको छ।

मुलुकको प्रमुख स्थल नाकामा रहेको वीरगन्ज भन्सार कार्यालय यसअघि मधेस आन्दोलन, नाकाबन्दी र कोरोना महामारी र लकडाउनका कारण ६ वर्ष लगातार राजस्वको लक्ष्य पूरा गर्न असफल हुँदै आएको थियो।

तर चालू आर्थिक वर्षका साउन, भदौ र असोजमा वीरगन्ज भन्सारले लक्ष्यभन्दा बढी नै राजस्व सङ्कलन गरेको छ।

चालू आर्थिक वर्षको गत असोज महिनामा वीरगन्ज भन्सारले लक्ष्यभन्दा २२ प्रतिशत बढी अर्थात् लक्ष्यभन्दा ३ अर्ब ७६ करोड ५९ लाख ६० हजार रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ।

गत असोज महिनाका लागि वीरगन्ज भन्सारलाई भन्सार विभागले १६ अर्ब ७५ करोड १ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । तर वीरगन्ज भन्सार कार्यालयले असोजमा २० अर्ब ५१ करोड ६१ लाख ५७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

गत भदौ महिनामा पनि वीरगन्ज भन्सारले लक्ष्यभन्दा १३ प्रतिशत बढी अर्थात् लक्ष्यभन्दा १ अर्ब ९९ करोड ६३ लाख १२ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ ।

भदौ महिनाका लागि १५ अर्ब ७० करोड ९४ लाख ३४ हजारको लक्ष्य पाएकोमा वीरगन्ज भन्सारले १७ अर्ब ७० करोड ५७ लाख ४६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

चालू आर्थिक वर्षको सुरुकै महिना साउनमा पनि वीरगन्ज भन्सारले लक्ष्यभन्दा २५ प्रतिशत बढी अर्थात् लक्ष्यभन्दा ३ अर्ब १ करोड ८३ लाख २३ हजार रुपैयाँ बढी राजस्व उठाउन सफल भएको छ ।

गत साउनमा भन्सार विभागले ११ अर्ब ८२ करोड ७५ लाख ५ हजारको लक्ष्य दिएकोमा वीरगन्ज भन्सारले १४ अर्ब ८४ करोड ५८ लाख २८ लाख रूपैया राजस्व सङ्कलन गरेको हो ।

यसअघि आर्थिक वर्ष २०७२/०७३ देखि गत आर्थिक वर्ष २०७७/०७८ सम्म लगातार ६ वर्षसम्म वीरगन्ज भन्सार राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न असफल हुँदै आएको थियो। वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले मालवस्तु (नयाँ सवारीसाधन, इन्धन इत्यादि) को आयात बढेका कारण राजस्व बढेको हो ।

नयाँ सवारीसाधनको आयात गत वर्षको सोही अवधिको भन्दा ३१ प्रतिशतले बढेको छ। इन्धन (पेट्रोल, डिजेल, हवाई इन्धन, एलपी ग्यास) को आयात पनि ३१.५३ प्रतिशतले बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस