तथ्याङ्क विभागले कूटनीतिक नियोगमा पहिलोपटक ‘ई–सेन्सस’ गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तथ्याङ्क विभागले कूटनीतिक नियोगमा पहिलोपटक ‘ई–सेन्सस’ गर्ने


५ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभागले पहिलोपटक विदेशस्थित ४० कूटनीतिक नियोगमा ‘ई–सेन्सस’ (अनलाइनबाट जनगणना) गर्ने भएको छ । त्यसका निम्ति प्रत्येक नियोगमा एक कर्मचारीलाई सम्पर्क व्यक्ति तोकिनेछ ।

कात्तिक २५ देखि मंसिर ९ सम्म हुने १२ औँ राष्ट्रिय जनगणनाका लागि यस्तो पहल गरिएको विभागका निर्देशक ढुण्डिराज लामिछानेले बताए ।

विभिन्न ३० मुलुकमा नेपाली दूतावास छन् । त्यसबाहेक न्युयोर्क, जेनेभा, भियनामा स्थायी नियोग छन् । नेपाली महावाणिज्य दूतावास ल्हासा, कोलकाता, हङकङ, जेहाद, न्युयोर्क, भियना, ग्वान्जाओ र छेन्दुमा रहेका छन् ।

‘तोकिएका सम्पर्क व्यक्तिलाई भर्चुअल माध्यमबाट तालिम दिइनेछ,’ लामिछानेले भने, ‘ती नियोगमा रहेका कर्मचारी र त्यहीँ रहेका परिवारको गणना हुनेछ । वेब एप्लिकेसन्समार्फत सम्पर्क व्यक्तिले डाटा इन्ट्री गर्नेछन् ।’

कूटनीतिक नियोगमा कार्यरतलाई मूली, परिवार संख्या, शिक्षा, अध्ययन क्षेत्र, प्रजननसम्बन्धी प्रश्न सोध्नुका साथै कोही अपाङ्गता भए त्यसबारे पनि खुलाइनेछ । कार्यरत मुलुक, कामको विवरण, पद आर्थिक कामको संस्थागत क्षेत्र पनि उल्लेख गरिनेछ । वैदेशिक रोजगारी र अध्ययन गर्न गएका नागरिकको विवरण भने स्वदेशमा रहेका घरपरिवारबाट लिइनेछ ।

विदेशमै स्थायी बसोबास गर्ने नेपालीबारे भने तथ्याङ्कमा उल्लेख नहुने जनाइएको छ । तथ्यांकीय सिद्धान्तअनुसार ६ महिनाभन्दा बढी घर छाडेर अन्यत्र जाने परिवारका सदस्यलाई ‘अनुपस्थित जनसंख्या’ मानिन्छ ।

तथ्यांकशास्त्री तुङ्ग शिरोमणि बाँस्तोलाका अनुसार १९९८ सालमा भएको चौथो जनगणनामा पहिलोपटक जीविकाका लागि मुगलान गएका भनेर विदेशमा जानेहरूको संख्या उल्लेख गरिएको थियो । उनले त्यतिखेर ८१ हजार ७ सय २२ जना विदेश गएको तथ्याङ्क आफ्नो पुस्तक ‘जनगन्तीका सय वर्ष’ मा उल्लेख गरेका छन् ।

१९६८ सालदेखि हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । सातौँ, आठौँ र नवौँ राष्ट्रिय जनगणनामा विदेशमा रहेकाहरूको तथ्याङ्क उल्लेख छैन । २०५८ सालको १० औँ जनगणनादेखि पुनः विदेश गएकाहरूको तथ्याङ्क राख्न थालिएको हो ।

२०६८ को जनगणनाले विदेशमा रहेकाहरूको जनसंख्या १९ लाख २१ हजार ४ सय ९४ देखाएको थियो । यो संख्या वैदेशिक रोजगारी र अध्ययन गर्न जानेको हो, जुन कुल जनसंख्याको ७ दशमलव ३ प्रतिशत थियो ।

पछिल्लो तथ्याङ्कले सबैभन्दा धेरै गुल्मी, अर्घाखाँची र प्युठानको ९४४ दशमलव ८१ प्रतिशत० जनसंख्या विदेशमा रहेको देखाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस