डुबानमा परेको ३८ घण्टापछि दुहबी सबस्टेसन सञ्चालनमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डुबानमा परेको ३८ घण्टापछि दुहबी सबस्टेसन सञ्चालनमा


४ कार्तिक २०७८, बिहिबार



काठमाडौँ । अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थित १३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ ।

डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी सबस्टेसन बिहीबार बिहान साढे १० बजेबाट ३८ घण्टापछि सञ्चालनमा ल्याइएको हो ।

प्रदेश नं १ का जिल्लाहरुमा विद्युत आपूर्ति गर्ने मुख्य दुहवी सबस्टेसन डुबानमा परेपछि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको थियो । सबस्टेसन सञ्चालनमा आएसँगै अहिले अधिकांश ठाउँको विद्युत आपूर्ति सुचारु भइसकेको छ ।

उपकरणहरूमा ठूलो क्षति नपुगेकाले आवश्यक सुरक्षात्मक उपाय अपनाएर सबस्टेसन चार्ज गर्न सफल भएको प्राधिकरण दुहबी ग्रिड शाखा प्रमुख राजेश रेग्मीले बताए । सबस्टेसनमा रहेका ४ वटा पावर ट्रान्सफर्मरको क्षमता २१९ एमभिए छ ।

अत्तरिया-चमेलिया प्रसारण लाइन पनि सञ्चालनमा

वर्षाका कारण विभिन्न स्थानमा रुख ढल्दा बन्द भएको अत्तरिया कैलाली-चमेलिया (दार्चुला) १३२ केभी प्रसारण लाइन पनि सञ्चालनमा आएको छ । अवरोधलाई हटाएर बिहीबारबाट प्रसारण लाइन सञ्चालनमा आएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पर्ने अधिकांश भागमा विद्युत आपूर्ति सुचारु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस