काँग्रेसलाई गुटउपगुटमुक्त पार्टी बनाइन्छ : रामचन्द्र पौडेल « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

काँग्रेसलाई गुटउपगुटमुक्त पार्टी बनाइन्छ : रामचन्द्र पौडेल


४ कार्तिक २०७८, बिहिबार


गलकोट । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनपछि नेपाली काँग्रेसमा गुटउपगुटको अन्त्य भएर जाने विश्वास व्यक्त गरे । उनले गुटउपगुटले काँग्रेस कमजोर भएर जाने भन्दै यसको अन्त्य गरी पार्टी एकजुट भएर अगाडि बढ्ने बताए ।

बागलुङस्थित नेपाली काँग्रेस काठेखोला गाउँपालिका–५ बिहुँले आउँदै गरेको शुभदिपावलीलगायत चाडपर्वका अवसरमा हिजो (बुधबार) आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले काँग्रेसलाई अब गुटको हिसाबले नभएर सिङ्गो काँग्रेसको हिसाबले हेर्न आम कार्यकर्तालाई आग्रह गरे ।

‘हामी १४औँ महाधिवेशनमा छौँ, अहिले शेरबहादुर देउवा पक्ष, रामचन्द्र पक्ष भनिए पनि यो गुट हैन’, पौडेलले भने, ‘महाधिवेशनपछि काँग्रेस झनै सशक्त भएर अगाडि बढ्छ, काँग्रेस अब व्यक्ति हैन पार्टी हो, कसैले शेरबहादुर र रामचन्द्र भनेर ट्याग लगाउन जरुरी छैन ।’

उनले मुलुकको संविधानको खेलबाड संविधानको पालकबाटै हुने गरेको भन्दै यस्तो कार्यले कसैलाई फाइदा नगर्ने बताए । पौडेलले एकलौटी ढङ्गले सत्ता सञ्चालन गर्न खोज्दा संविधानको मर्मभन्दा बाहिर गएर मुलुकमा अधिनायकतन्त्र ल्याउन खोजेकोसमेत आरोप लगाएका थिए ।

उनले काँग्रेस लोकतन्त्रको रक्षाका लागि उभिने दल भएका कारण कुनै पनि गुटउपगुट बाहिर रहेर लोकतन्त्रका पक्षमा उभिन कार्यकर्तालाई आग्रह गरेका थिए ।

उनले मध्यपहाडी लोकमार्गअन्तर्गतको बागलुङ खण्डमा कालोपत्रका लागि भइरहेको ढिलाइप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै यसलाई तत्काल अगाडि बढाउन पहल गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस