खोलाको पानी पसेपछि विराटनगर विमानस्थल जलमग्न, सबै उडान स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खोलाको पानी पसेपछि विराटनगर विमानस्थल जलमग्न, सबै उडान स्थगित


३ कार्तिक २०७८, बुधबार


काठमाडौँ । भैरहवापछि सर्वाधिक उडान हुने काठमाडौँ बाहिरको विराटनगर विमानस्थल दुई वटा खोलाको पानी पसेपछि बन्द भएको छ ।

विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलका अनुसार, विमानस्थलभित्र सबै स्थान जलमग्न भएको छ ।

‘विमानस्थल छिर्ने गेटेदेखि लिएर, जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न छ,’ खरेलले भने, ‘यहाँ भित्र कम्तीमा ३ देखि ६ फिटसम्म पानी जमेको छ । पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन ।’ उनका अनुसार, विमानस्थल नजिकैका केरलिया र बास्ता खोलाको पानी भित्र पसेको हो ।

खराब मौसमका कारण बुद्धको एटीआर र श्री एयरलाइन्सको सीआरजे विमान हिजो (मंगलबार) राति काठमाडौँ फर्किन नसकेर त्यहीँ ‘नाइट–स्टपमा’ मा परेका थिए । खरेलले पानीबाट जोगाउन आज (बुधबार) बिहानै श्रीको जहाजलाई पानी कम भएको स्थानमा सारिएको बताए ।

‘बुद्धको जहाज भएको स्थानमा त्यति पानी छैन, श्रीको जहाज कम पानी भएको धावनमार्ग नजिकै सारेका छौँ,’ खरेलले भने । विराटनगरमा दैनिक आउने र जाने गरी ४२ उडान भइरहेको छ। यहाँबाट दैनिक १ हजार यात्रु ओहोरदोहोर गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस