दोदा नदीको बाढीले धान बगाउँदा लाखौँको क्षति « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दोदा नदीको बाढीले धान बगाउँदा लाखौँको क्षति


३ कार्तिक २०७८, बुधबार


कञ्चनपुर । लगातारको वर्षाका कारण आएको बाढीले लालझाडी गाउँपालिका क्षेत्रका किसानले काटेको धान दोदा नदीले बगाएको छ।

नन्दगाउँ, कस्वा, विनावारी, नौरंगा, विचवालगायत क्षेत्रका किसानले काटेर खेतमा सुकाएका धान बगाउँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले बताए।

‘केही ठाउँमा दोदा नदीको पानी पसेपछि बग्यो’ उनले भने, ‘केही ठाउँमा वर्षाको पानीले बगाएर धान नदीमा पुर्‍यायो। पुरै खेत र बस्ती जलमग्न छन्। काटेको सबै धान बगेको छ।’

नदीले धान बगाएको टुलुटुलु हेर्नुको विकल्प नभएको नेपाली काँग्रेसका लाझाडी गाउँ कार्यसमितिका सभापति श्रीकृष्ण रानाले बताए। ‘निकै ठुलो नोक्सानी भएको छ‚’ उनले भने‚ ‘किसानले भोक भोकै बस्नु पर्ने अवस्था आएको छ। सबै सत्यानाश भयो।’

यसअघि नदी गाउँ पस्दा डुबान भए पनि खेतमा लगाएको बाली बगाएर नलगेको उनले बताए।

स्थानीय लक्ष्मण रानाले दश कट्ठा जग्गामा लगाएको धानबाली पुरै नदीले बगाएको बताए। काटेर सुकाउन राखेको धान सँगै मुठा बाँधेर राखेको धान समेत बगेको उनले बताए। अब कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस