आजको मौसम : केही प्रदेशमा भारी वर्षाको सम्भावना ,उच्च पहाड र हिमाली भू–भागमा हिमपात हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आजको मौसम : केही प्रदेशमा भारी वर्षाको सम्भावना ,उच्च पहाड र हिमाली भू–भागमा हिमपात हुने


३ कार्तिक २०७८, बुधबार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बुधबार) पनि देशका विभिन्न स्थानमा वर्षा हुने भएको छ ।

केही दिनदेखि अविरल वर्षा भइरहेको छ । आज बिहान प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा पूर्ण बदली रहेको छ ।

बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना छ ।

प्रदेश १ का केही र प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा केही दिनदेखि वर्षा भइरहेको छ । वर्षा र हिमपात हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस